विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट २ को मृत्यु भएको छ । थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो।

आज मोरंगमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जसमा मोरङको विराटनगरमा ११ पुरुष १० महिला, बेलबारीमा २ र रंगेलीमा १ पुरुष, सुनसरीको धरानमा ११ पुरुष, ३ महिला, इटहरीमा ४ पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २५५ पुगेको छ । आज पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको छ । प्रदेश १ मा विहीबार १ हजार ५४ जनाको पीसीआर परीक्षण भएको छ ।

परीक्षण गरिएकामध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।