अर्जुन राजवंशी,
बिर्तामोड । झापाको मेची अस्पतालमा निर्माण गरिएको कोभिड आइसोलेसन सेन्टर चार दिनमै भरिएको छ । २५ शैय्याको आइसोलेन सेन्टर बिहीबार भरिएको हो ।

भद्रपुर नगरपालिकास्थित मेची अस्पतालको आइसोलेन सेन्टरमा सोमबारदेखि कोरोना संक्रमितलाई राख्न थालिएको थियो ।

सेन्टरमा बेड खाली नभएपछि बिहीबार संक्रमण पुष्टि भएका मेचीनगर नगरपालिकाका ८ मध्ये २ जनालाई धाइजन स्वास्थ्य चौकीको क्वारेन्टिनमा राखिएको छ । मेचीमा निर्माण गरिएको आइसोलेन जिल्लाको एकमात्र आइसोलेसन सेन्टर हो ।

स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले भन्नुभयो, ‘मेचीको आइसोलेसन चार दिनमै भरियो । बेड अभावमा बिहीबार संक्रमण पुष्टि भएका मेचीनगरका ८ मध्ये २ जनालाई धाइजनको क्वारेन्टिनमा राखेका छौं ।’

उहाँले तत्काल थप आइसोलेसन सेन्टर निर्माण गर्नुपर्ने माग गर्नुभयो । ‘मेचीमै बेड संख्या थप गर्नुपर्‍यो कि त अर्को आइसोलेसन तत्काल बनाउनुपर्‍यो’, उहाँले भन्नुभयो, ‘भोलि (शुक्रबार) कोही संक्रमण पुष्टि कहाँ राख्ने भन्ने टुंगो छैन ।’

जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ९१ पुगेको छ । ३४० जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुरले भने मेचीमै आइसोलेनका लागि थप बेड राख्न सक्ने स्थान नभएको बताउनुभएको छ । जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले बाह्रदशी गाउँपालिका, बिर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिकामा कोभिडको ‘मास स्क्रिनिङ’ सुरु गरेको छ । चम्लागाईका अनुसार जिल्लाका विभिन्न पालिकाबाट करीब ६ सय जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि विराटनगर र धरानको ल्याबमा पठाइएको छ । कान्तिपुरबाट