शिशिर चौलागाइँ,
इलाम । इलामको रोङ गाउँपालिका वडा नम्बर ४ प्युरेका टेकबहादुर मगर अपाङ्गता भएका व्यक्ति हुन् । २०७४ सालबाट अपाङ्ग बनेका उनी घरमा एक्लै बस्दै आएका छन् । जेनतेन गुजारा गर्दै आएका टेकबहादुरलाई वर्खायाम रमाइलो लाग्दैन । यसवर्षको वर्खा पनि उनका लागि समस्या बनेर आयो ।

एक्लै बस्दै आएको घरसमेत पहिरोका कारण भासिन थालेपछि अब कसरी बस्ने भन्ने उनको चिन्ता छ । मनसुनको सक्रियतासँगै केही हप्ता अघिको अविरल वर्षाले उनको घरबारीमा ठूलो धाँजा फाटेको छ ।

पहिरोले घर भएको जमिन फाटेपछि वर्षौदेखि बस्दै आएको उनको घर छिमेकीको सहयोगमा भत्काइएको छ । ‘घरको खावो बाङ्गिएकोले घरको टीन उप्काउन गाउँको साथीभाइ डराए । पाँचवटा खावा लडेपछि घर भत्काइयो’, उनले भने ।

दाजुको घरमा आश्रय लिदै आएका उनी अब स्थानीय सरकारले सहयोग गर्ला कि भन्ने आशमा छन् । टेकबहादुरको जस्तै पीडा छ मनु बस्नेतको पनि । उनी अनिदो बसेको धेरै रात भयो । घरको बलेसी नै पहिरोका कारण भाँसिएपछि उनको निद्रा हराएको छ ।

‘आगनबाट भाँसिन शुरु भएको छ । कतिबेला पानी पर्छ र पहिरोले लाने हो भन्ने डरका बीच सुत्नुपर्छ । निदाएको बेला ठूलो पानी आयो भने के गर्ने ?’, उनले भनिन्, ‘त्रासैत्रासका बीचमा बस्नुपरेको छ ।’

धस्केको आँगन देखाउँदै उनी भन्छिन्, ‘मध्यराततिर अलि ठूलो पानी आयो भने छिमेकीको तिर भाग्नुपर्छ ।’

इलाम र झापाको सीमानाको प्युरेमा रहेका स्थानीयले २०७३ सालदेखि नै यो समस्या भोग्दै आएका छन् । करिब १ सय घरधुरी रहेको यो गाउँको दक्षिण क्षेत्र पहिरो बनेर बगेको छ । गाउँका अधिकाशं घर र जमिनमा ठूलठूला धाँजा फाटेका छन् । ९ घर पहिरोमा बगेका छन् ।

यो वर्ष पनि अविरल वर्षासँगै ५ घर पहिरोले बगाउने अवस्था आएपछि स्थानीय मिलेर घर नै भत्काएका छन् ।

पहिरोले अधिकाशंका बारी धस्किएर घरमा क्षति पुगेको छ भने सयौ रोपनी खेतीयोग्य जमिन पनि बगाइसकेको छ ।

दक्षिणमा झापाको बुद्धशान्ति गाउँपालिका हुँदै बग्ने टिमाइ खोलाको कटानले प्युरे गाउँ पहिरोको जोखिममा परेको हो ।

पहिरोले २०७३ सालमा घर बगाएपछि स्थानीय सोमदत्त अर्यालको घरमा बस्दै आएका भिमबहादुर मगर यसपालि पनि अहिले बसेको घर छाड्नु पर्ने अवस्थामा पुगेका छन् ।

आगँनको डिलैमा पहिरो आइपुगेपछि घर छोड्नुको विकल्प नभएको उनको भनाइ छ । पहिरोले बगाएको पुरानो घर भएको भीर देखाउदै भिमबहादुर भन्छन्, ‘जता गए पनि पहिरोले छोडेन, सरकारले केही सहयोग पनि गरेन । हामी त यो देशको नागरिकै होइन कि जस्तो लाग्न थाल्यो, कमसेकम बस्ने वातावरण सरकारले मिलाइदिए हुन्थ्यो ।’

यस्तै घरसँगै कृषकले लगाएको बाली पनि पहिरोको जोखिममा पर्दा थप पीडा हुनेगर्छ उनीहरुलाई । पहिरोको डरले अहिले खेती नै गर्न छाडेको उनीहरु बताउँछन् ।

पिता पूर्खाको पालादेखि बस्दै आएको क्षेत्र छाडेर जाने मन नभएको बताउने प्युरेबासी सरकारको उचित राहतको पर्खाइमा छन् ।

यता रोङ गाउँपालिकाका अध्यक्ष शमरेर राई भने पहिरो पीडितलाई व्यवस्थापन गर्दै लैजाने बताउँछन् ।

‘पुख्यौली थलो नछोड्ने स्थानीय भनाई छ । गाउँ नै पहिरोको जोखिममा भएकाले गाउँ नै बगाउला भन्ने पीर हामीलाई छ’, अध्यक्ष राईले भने, ‘स्थानीयलाई गाउँपालिकाले व्यवस्थापन गर्दै आएको छ ।’

उनले स्थानीय सरकारलाई प्रदेश र केन्द्रीय सरकारले सहयोग नगरेको पनि गुनासो गरे । ‘चुरे क्षेत्रमा पर्ने यो पहिरोको दीर्घकालीन समाधान गर्न पटक–पटक केन्द्र र प्रदेश सरकारसँग मौखिक र लिखत आग्रह गरिएको छ । तर, कतै सुनुवाइ भएको छैन,’ उनले भने, ‘बस्ती नै व्यवस्थापन गर्न गा¥हो छ । तर, समस्यासँग हामी भाग्दैनौं समाधानका लागि निरन्तर लागिरहेको छु ।’

हालसम्म प्युरेका ९ परिवारलाई स्थानीय सरकारले बसोबासको व्यवस्था मिलाएको पनि राईले बताए । उनले यसपाली बिस्थापित भएका अन्य पाँच परिवारको समेत ब्यवस्थापन गर्ने बताए ।

चुरे र पहाडी क्षेत्रमा यस्ता प्राकृतिक बिपत्तिका कारण देशभर वर्षेनी हजारौ परिवार प्रभावित हुँदै आएका छन् । तर, दीर्घकालीन समाधानको बाटो नजोजिएको सरोकारवाला निकायको भनाई छ ।

यस्ता समस्याको समाधान गर्न प्राविधिक अध्ययन गरी निकास निकाल्न आवश्यक छ । राष्टपति चुरे संरक्षण कार्यक्रमलाई चुरे संरक्षणको अभियान बनाउन सके प्रभावकारी हुनसक्ने चुरे क्षेत्रका पीडितहरुको भनाइ छ ।