सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधित क्षेत्र घोषणा गरेपछि सुनसरी जिल्ला अदालत र मालपोत कार्यालय इनरुवाले बिहीबारबाट साउन २६ गतेसम्म सेवा बन्द गरेका छन् ।

सुनसरी जिल्ला अदालतका श्रेस्तेदार शाखा अधिकृत नगेन्द्रकेशरी पोखरेलले सुनसरीका स्थानीय तहले एक सातासम्म लकडाउन गरेको र जिल्ला प्रशासन कार्यालयले समेत जिल्लाभर निषेधित क्षेत्र घोषणा गरेकाले अदालतको सेवा बन्द गरेको बताए ।

श्रेस्तेदार पोखरेलले थुनछेक र बन्दीप्रत्यक्षीकरण भने यथावत रहने जानकारी दिए । यसैगरी मालपोत कार्यालय इनरुवाले समेत साउन २६ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।

मालपोत अधिकृत मिलन दाहालले कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा रहेकाले कार्यालयबाट सेवाग्राहीहरुमा प्रवाह हुने सवै सेवा बन्द गरेको बताए ।