काँकरभिट्टा । पूर्वीनाका मेचीनगर –१० को महानन्द टोल क्षेत्रमा समुदायमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

बाहिर कतै नगएका सो टोलका १५ वर्षीय युवामा कोरोना संक्रमण देखिएपछि समुदायमा त्रास बढेको छ । धुलाबारीस्थित टाउनहलमा साउन १८ गते समुदायको स्वाब संकलन गरिएको थियो । उक्त दिन धुलाबारी क्षेत्रका ८४ जनाको स्वाबको नमुना संकलन गरिएको हो । ८४ जनामध्ये ती युवामा संक्रमण देखिएको हो ।

ती युवा फुटबल खेलाडी रहेको बुझिएको छ । धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।

समुदायमा कोरोना फैलिएपछि अबको रणनीति तयार गर्न नगरपालिकामा बैठक बस्ने तयारी भइरहेको नगर प्रमुख विमल आचार्यले बताए ।

यसअघि झापाको बाह्रदशी , बिर्तामोड र अर्जुनधारामा समुदायमा कोरोना संक्रमण देखिएको छ । बिर्तामोड र अर्जुनधारामा अहिले लकडाउन जारी छ ।