झापा । अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले पीसीआर परीक्षणका लागि समुदायको स्वाब संकलन तीव्र पारेको छ ।

अर्जुनधारा १ मा एक जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको पाइएपछि नगरमा समुदायको स्वाब संकलनलाई जोड दिएको हो । एक साताअघि ट्राभरल हिस्ट्री नभएका एक पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य शाखाले शुक्रबार तेस्रो चरणमा समुदायको स्वाब संकलन गरेको हो । स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार आज नगर प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधि, नगरका कर्मचारी, नगरमा रहेका वित्तीय संघसंस्थाका कर्मचारी, अन्य कार्यालयका कर्मचारीको स्वाब संकलन गरिएको छ ।

उनका अनुसार आजमात्र १४७ जनाको स्वाब संकलन गरियो । जसमा २७ जना क्वारेन्टाइनमा रहेका व्यक्ति र १२० जना समुदायका व्यक्ति रहेका छन् ।

यसअघि संक्रमित युवा रहेको वडाका ७१ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ भने दोस्रो चरणमा १०२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

नगरपालिकाले चौँथो चरणमा बजार क्षेत्रमा कार्यरत व्यक्तिलाई लक्षित गरी स्वाब संकलन गर्ने योजना रहेको जनाएको छ ।