विराटनगर । मुलुकमा थप ३ सय ७८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ७८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

प्रदेश १ मा शनिबार ६१ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । मोरङका ४८ जना, सुनसरीका १० जना र ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेका छन् ।

मोरङको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १ महिला, इनरुवाका २ पुरुष, महोत्तरीका १ महिला १ पुरुष र सप्तरीका १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ८३ पुगेको छ । प्रदेश १ मा शनिबार १ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा शनिबार सम्म ५१ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा २१ गते स्वाब दिएकोमा हालसम्म पनि रिपोर्ट नआएको तर, पहुँचवालाहरुको भने अगाडि नै रिपोर्ट आउने गरेको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् ।

४ दिन अगाडि स्वाब दिएका दुई जना पत्रकारको अझै रिपोर्ट आएको छैन । उनीहरु भन्छन, ‘हामी भन्दा पछाडि दिएकाहरुको पोजेटिभ आएको छ । सँगै काम गर्ने साथीहरुले आफूलाई शंका लागेपछि आफैले स्वाब दिएका हौं, तर हाम्रो अझै आएको छैन ।’

उनीहरु अहिले होम क्वारेन्टाइनमा बसेका छन् । उनीहरु जस्ता धेरै छन् । स्वाब दिएर रिपोर्टको पर्खाइमा बसेका, सामान्यतय लक्षण नदेखिएकाहरु भने बाहिर घुमेका हुन्छन् । जसले गर्दा समूदायमा कोरोना संक्रमण भयावह बन्दै गएको छ ।