झापा । झापाको अर्जुनधारा नगरपालिकाका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना पुरुष रहेका छन् ।

अर्जुनधाराको नगर स्वास्थ्य शाखाले समुदायमा संक्रमण भएको आशंकामा पछिल्लोपटक पीसीआर परीक्षणका लागि स्वाब संकलनलाई तिव्रता दिँदै आएको छ ।

दोस्रो चरणमा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । उनका अनुसार १२७ जनाकाे स्वाब संकलन गरिएकामध्ये २ जनामा संक्रमण पुष्टि भएको हो ।

अर्जुनधाराको क्वारेन्टाइनमा रहेका २५ जना र समुदायका १०२ जना व्यक्तिको स्वाब संकलन गरिएको थियो । जसमा क्वारेन्टाइनमा रहेका २ जना पुरुषको पीसीआर परीक्षण पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले न्यूज सञ्जाललाई जानकारी दिए ।

यसअघि समुदायमा गरिएको ७१ जनाको रिपोर्ट भने नेगेटिभ आइसकेको छ । यस्तै, तेस्रो चरणमा गरिएको १४७ जनाको गएको शुक्रबार स्वाब संकलन गरिएको छ । जसमा १२० जना समुदायका र २७ जना क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब संकलन गरिएको छ ।

अर्जुनधारा नगरपालिका वार्ड नम्बर १ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि नगरलाई लकडाउन गरी कन्ट्याक ट्रेसिङ र स्वाब संकलनलाई तिव्रता दिइएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।