झापा । जिल्लाको उत्तरी नगरपालिका अर्जुनधारामा बसाइँ सरी आउने घरपरिवारको संख्या बर्सेनि बढिरहेको छ ।

नगरपालिकाको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा बसाइँ सरी आउने घरपरिवारको संख्या ३३५ रहेको छ । यो संख्या आर्थिक वर्षको ८ महिनाको मात्र हो ।

गएको अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ३४३ घरपरिवार अर्जुनधारा नगरपालिकामा बसाइँ सरी आएका थिए । दुई आर्थिक वर्षको तुलनामा ८ घरपरिवार कमी देखिएको प्रशासकीय अधिकृत चुडामणी निरौलाले बताए ।

तर, गत आवमा कोरोना भाइरसको महामारीका कारण मुलुकमा लकडाउन भएको हुँदा चार महिना बसाइँ आउने र जाने गतिविधि पूर्णरुपले ठप्प भएको उनको भनाइ छ ।

उनका अनुसार गत आवमा बसाइँ सरी जाने घरपरिवारको संख्या ११८ रहेको छ । यसअघि अघिल्लो आवमा १३६ जना घरपरिवार बसाइँ सरी अन्यत्र गएका थिए ।

नगरको तथ्यांकअनुसार सबैभन्दा बढी वडा नम्बर ६ मा ५८ घरपरिवार बसाइँ सरिआएका छन् भने सबैभन्दा कम वडा नम्बर ८ मा १५ जना रहेका छन् ।

नगरको प्रशासन शाखाका अनुसार वडा नम्बर २, ३ र ७ मा समान १७, १७ घरपरिवार बसाइँ आएका छन् भने १ नम्बरमा २२, ४ मा २१, ५ र ९ मा ४३, ४३, १० मा ३८ र ११ नम्बरमा ४४ घरपरिवार बसाइँ सरिआएका छन् ।

नगरमा बसाइँ सरी आउने घरपरिवारको संख्या बढिरहेका बेला घर निर्माण गर्नेको संख्या पनि बढेको पाइएको छ ।

नगरको योजना शाखाका अनुसार गत आव २०७६/७७ मा ४८४ जनाले घर निर्माण गर्न नगरमा नक्सा पासका लागि दर्ता गराएका थिए । यो संख्या ८ महिनाको अवधिको हो ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ को १२ महिनामा ६९७ जनाले घर निर्माणका लागि नक्सा पास गराउन दर्ता गराएका थिए ।

गत आर्थिक वर्षमा नगरमा २१६ वटा नयाँ घर निर्माण भएको योजना शाखाका सव इन्जिनियर छविरमण पोख्रेलले न्यूज सञ्जालाई जानकारी दिए । उनका अनुसार यस अवधिमा २६८ जनाले घर निर्माणका लागि अभिलेखीकरण गराएका छन् ।

शाखाका अनुसार सबैभन्दा बढी वडा नम्बर ६ मा ६२ वटा घर निर्माण भएका छन् भने सबैभन्दा कम २ नम्बरमा ५ वटा घर बनेको छ । त्यस्तै, १ नम्बरमा ६ वटा, ३ मा १० वटा, ४ र ८ मा २०र२० वटा, ७ मा १६ वटा, ९ मा १५ वटा, १० मा १० वटा र ११ मा ३० वटा घर निर्माण भएका छन् ।

घर निर्माणसम्बन्धी नक्सा पासबाट नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ को अवधिमा ३९ लाख ३७ हजार ७९० रुपैयाँ राजश्व संकलन गरेको छ ।

राजश्व शाखाका अनुसार गत आवमा ५० लाख रुपैयाँ नक्सा पासवापत राजश्व संकलन गर्ने लक्ष्य लिइएको थियो । तर, कोरोना भाइरस महामारीका कारण ४ महिना ठप्प भएकाले लक्ष्य नभेटिएको जनाइएको छ ।