झापा । अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २ जना कोरोना भाइरस संक्रमित व्यक्तिलाई थप उपचारका लागि माेरङकाे गोठगाउँ लगिएको छ ।

आइतबार बिहान नै कोरोना भाइरस संक्रमण पुष्टि भए पनि आइसोलेशन शय्या अभावका कारण तीन दिनसम्म उनीहरु क्वारेन्टाइनमै रहँदै आएका थिए । उनीहरुलाई मंगलबार अपराह्न कोभिड अस्पताल गोठगाउँमा लगिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

यसैबीच, स्वास्थ्य शाखाले अर्जुनधाराका थप ५१ जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षणका लागि मेची कोभिड अस्पताल भद्रपुरमा पठाएको छ ।

अर्जुनधाराको क्वारेन्टाइनमा रहेका ३० जना र कन्ट्याक ट्रेसिङमा रहेका समुदायस्तरबाट २१ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि मेची कोभिड अस्पतालमा पठाइएको बताइएको छ ।

यसअघि गरिएकाे १४७ जनाकाे रिपाेर्ट आउन बाँकी छ । जसमा २७ जना क्वारेन्टाइनमा रहेका र अन्य समुदायका १२० जनाकाे स्वाब संकलन गरिएकाे थियाे ।