झापा । झापाको सदरमुकाम भद्रपुरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने श्रीकृष्ण रथयात्रा यस वर्ष सार्वजनिक रुपमा आयोजना नहुने भएको छ ।

विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रास र जोखिम कायमै रहेकोले यस वर्ष सार्वजनिक रुपमा रथयात्राको आयोजन गर्न नसकिने निर्णय गरिएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताउनु भएको छ । यस वर्ष बुधबार रथयात्रा आयोजना गर्नुपर्ने थियो ।

तर, रथयात्राको कुनै पनि किसिमको तयारी नगरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले बताउनु भयो ।

झण्डै तीन दशकसम्म स्थानीयस्तरमा गठित समितिले रथयात्राको आयोजना गर्दै आएकोमा स्थानीय तहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि नगरस्तरमै गठित समितिद्वारा रथयात्राको व्यवस्थापन गर्न थालिएको छ ।

पूर्वमा विराटनगरपछिको सबैभन्दा ठूलो मानिने भद्रपुरको रथयात्रा आन्तरिक पर्यटनको आधार पनि बन्दै गएको थियो । रथयात्रामा सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालुहरुको पनि सहभागिता रहँदै आएको थियो ।

श्रीकृष्ण जन्माष्टमीमा भद्रपुर ५ स्थित स्थानीय कृष्ण मन्दिरमा पूजा आराधना गरी रातभर जाग्राम बसेर भोलिपल्ट रथयात्रा निकालेर राति लाखेको बध गरेपछि यो यात्राको समापन हुने गरेको थियो ।

तर, यस वर्ष मन्दिरमा पनि भक्तजनका भीड देखिएन भने राति जाग्राम बस्ने कार्यक्रम पनि रहेन ।