दमक । नेपाल विद्युत प्राधिकरण दमकका पाँच कर्मचारीसहित छ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

दमकमा एकैपटक यतिका संख्यामा पहिलोपटक संक्रमण देखिएको हो । दमक नगरपालिका स्वास्थ्य शाखाका अनुसार संक्रमितमध्ये दमक ५ की एक महिला हुन् भने अन्य ५ जना कर्मचारी रहेका छन् ।

नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार संक्रमित कर्मचारीहरु नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रमा कार्यरत भएको खुल्न आएको छ । त्यस्तै दमक ५ बस्ने एक महिलामा पनि संक्रमण पुष्टि भएको छ । ती महिला भारतबाट फर्केर होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

कोरोनाको हटस्पट बनेको विराटनगर आवतजावत गरेका कारण प्राधिकरणका कर्मचारीमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । गत बुधबार १०७ जनाको मास टेस्टीङ गरी पिसिआर परीक्षण गर्दा ती ६ जनाको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए । विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा बाँकी अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।

दमकमा बिहीबार गरिएको अझै २ सय जनाको पिसिआर परीक्षणको रिपोर्ट भने आउन बाकी रहेको बताईएको छ । संक्रमितलाई कोभिड अस्पतालको आइसोलेसनमा पठाउने तयारी भईरहेको जनाईएको छ ।

यसैबीच, समुदायमा समेत संक्रमण फैलिन थालेपछि नगरपालिकाको आकस्मिक बैठक बसिरहेको छ । समुदायस्तरसम्म संक्रमण फैलिएको हुन सक्ने नगर स्वास्थ्य शाखाका अधिकृत भट्टराईले बताए ।