किरण पौड्याल,
इलाम । ‘भगीरथ, एउटा समाचार टिप त’, ‘भगीरथ, एउटा न्युज दिनु न’, इलामका पत्रकार भगीरथ भण्डारीले दैनिकरूपमा आफ्नै मिडियामा सामना गर्नुपर्ने प्रश्न हुन् यी । यतिमात्र होइन, अरू मिडियाका पत्रकार पनि खुसुक्क उनको मिडियामा पस्छन् अनि ‘अस्तिको समाचार मलाई पनि है’ भन्दै निस्कन्छन् ।

भगीरथले सामना गर्नुपर्ने काम भने यतिमा मात्रै सीमित छैनन् । घरायसी मामिलादेखि अन्य काम पनि छन् उनका, तर यति सबै काम गर्ने भगीरथको हात भने एउटा मात्र छ । उनी एउटै हातका भरमा तमाम काम भ्याइदिन्छन् ।

उनी अपांगता भए पनि पत्रकारितामा यसको छायाँ भने पर्दैन । एउटै हातले समाचार लेखेर पनि भगीरथ अहिले राजधानी दैनिक र जनता टेलिभिजनको इलाम संवाददाता छन् भने इलाम पोष्ट दैनिकको प्रबन्ध सम्पादक ।

उनका सामु दैनिक रूपमा आउने काम भनेको इलाम पोष्टको विज्ञापन व्यवस्थापन, आर्थिक कारोबार अनि टेलिभिजनमा भिडियो र राजधानी दैनिकलाई समाचार पठाउने ।

यी सबै काम उनी एकै हातको भरमा गर्छन् । जोकोहीलाई भगीरथको काम देख्दा अपांगता भएको भान हुँदैन । सँगै रहेका साथीभाइले एउटा काम गर्दा उनलाई दुईभन्दा बढी गर्नुपर्ने बाध्यता आइलाग्छ । यो भन्दा अचम्मको कुरा त के हो भने भगीरथ एकै हातको भरमा टाइप गर्छन् र पत्रिकाको डिजाइन पनि । जोकोहीले दुवै हातले गर्न नसक्ने काम भगीरथ एकै हातले गर्छन् ।

करेन्टले लगेको त्यो हात
२०६९ साल साउन १२ गते भगीरथलाई कालो दिन लाग्छ । इलामको फाकफोकथुम गाउँपालिकास्थित आमचोकका भगीरथ अध्ययनका लागि इलामको देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्ष अध्ययन गर्दै थिए ।

त्यस दिन घरभेटीले घरको छानाको पानी कटाउन पाइपको डुँड लाउँदै थिए । त्यसैबेला घरबेटीले उनलाई पनि सहयोगका लागि बोलाए । घरबेटीको वचन काट्न नसकेर सहयोग गर्न जानुपर्ने भयो । जाँदाजाँदै उनलाई घरबाट एकमिटर पर रहेको ११ हजार भोल्टेजको लाइनले तानेर टाँस्यो ।

‘एघार हजार भोल्टेज भएको लाइनले केही टाढाबाटै तान्दो रहेछ, झन् त्यो दिन त पानी परेकाले सबैतिर चिसो थियो, तारमा लगेर टाँसेछ मैले त केही पत्तै पाइनँ,’ भगीरथले भने, ‘करेन्ट लागेपछि एक्कासी लाइन गएछ । हात तारमा र खुट्टा छानामा भयो ।’

वरपरका मान्छे भेला भएर भगीरथलाई भुइँमा सुताएछन् । धेरैले मरेको ठानेका रहेछन् तर खुट्टाको औँला चलेपछि ‘सास छ’ भन्दै मंगलबारेको अस्पताल लगेछन् । उपचारका लागि त्यहाँबाट इलाम अस्पताल हुँदै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएछ ।

‘म होसमा आउँदा धरानकै अस्पतालमा थिएँ,’ उनले भने । उपचारका लागि चार दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बस्नुपर्‍यो ।

त्यसपछि थप उपचारका लागि ५९ दिन सुष्मा कोइराला मेमोरियल ट्रष्टमा बस्नु पर्‍यो । ट्रष्टमा करेन्ट लागेको हात काट्नै पर्ने अस्पतालले बतायो । ‘मनमा अनेकौँ कुरा खेल्न थाले तर अब जिन्दगी एकै हातको भरमा बाँच्नुपर्छ भन्ने लाग्यो,’ भगीरथले अँध्यारो मुख पार्दै भने, ‘फाल्दा बाँचिन्छ भने फालौँ न त भनेँ ।’

उपचार सफल भएर बाँचेपछि भगीरथ भने आफू भाग्यमानी रहेको बताउँछन् । ‘दाहिनेतिरबाट लाइनको तारले तानेको थियो तर देब्रे हात बिग्रियो,’ उनी भन्छन्, ‘देब्रे हातमा घडी लगाएको थिएँ त्यसले पनि छिटो तानेछ ।’ उनको देब्रे हात चुँडियो भने दाहिने हात र दाहिने खुट्टामा दाग छ ।

यो दुर्घटनाबाट बाँचेका भगीरथ गतवर्ष मोटरसाइकल दुर्घटनामा परे । समाचार संकलन गर्न जाने क्रममा इलाम चोक बजारमै मोटरसाइकलले ठक्कर दिएपछि एक हप्ता अस्पतालको सम्पर्कमा रहे । यो दुर्घटनामा पनि उनको पहिले दुर्घटनामा परेको हातमै समस्या पर्‍यो तर दीर्घकालीन समस्या भने आएन ।

पत्रकारितामा भविष्य देख्दैनन्
यति धेरै संघर्ष गरे पनि उनी पत्रकारितामा भविष्य देख्दैनन् । जिल्लाभित्र वा बाहिरका मिडियामा काम गरे पनि हात मुख जोड्न समस्या हुने गरेको उनी बताउँछन् । छ वर्षदेखि अनवरत पत्रकारिता गर्दै आएका उनले सन्दकपुर दैनिकको व्यवस्थापक र डिजाइनर भएर चार वर्ष काम गरे ।

लामो समय खट्दासमेत दुःख गरेअनुसार पैसा नभएपछि विकल्प खोज्नु पर्ने स्थिति आएको उनी बताउँछन् । ‘न स्थायी होइन्छ न त तलबीमै राखिन्छ,’ उनी भन्छन्, ‘साह्रै धेरै मिडियामा काम गर्दा पनि जीवन धान्न कठिन भएको छ ।’