विराटनगर । विराटनगरमा महानगरपालिकामा थप ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा महानगरपालिकाभित्रका ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमध्ये ३२ महिला र ५४ पुरुष छन् । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५६६ पुगेको छ ।

विराटनगरमा संक्रमण पुष्टि भएकामध्ये ८६ जना कोरोनामुक्त भइसकेका छन् । सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार विराटनगर–२ तीनपैनीकी ५० वर्षीया महिलाको मृत्यु भएको छ ।

प्रदेश १ मा भने कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । विराटनगरमा ८६ सहित प्रदेश १ मा आइतबार १०३ जना कोरोना संक्रमित थपिएको हो । यो संख्यासँगै संक्रमितको संख्या दुई हजार नाघेको हो । आइतबारसम्म प्रदेश १ मा संक्रमितको संख्या २ हजार १० पुगेको छ ।

मोरङमा मात्र आइतबार ९२ संक्रमित थपिएका छन् । खोटाङमा ६, सुनसरीमा २ र इलाममा १ जना संक्रमित थपिएका छन् । त्यस्तै प्रदेश २ का दुईजना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८६, बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।