बिर्तामोड । कोरोना संक्रमितको उपचार मेची अस्पताल परिसरभित्र नगर्न कांग्रेसले माग गरेको छ । अस्पताल परिसरभित्रै संक्रमितलाई राखेर उपचार थालेपछि सर्वसाधारण अस्पतालको सेवाबाट वञ्चित बन्न पुगेको कांग्रेस झापा क्षेत्र नं ३ समितिको दाबी छ ।

कांग्रेसले संक्रमितलाई तत्काल अस्पताल परिसरभित्रबाट अन्यत्र सारेर सुरक्षित र भरपर्दो उपचार गर्न मागसमेत गरेको छ । मेची अस्पताल जिल्लाको ठूलो सरकारी अस्पताल हो ।

कोभिड अस्पतालको अभावमा संक्रमितलाई साउन १९ देखि मेची अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । पहिलो लटमा मेचीमा उपचारपश्चात् १७ जना निको भएर घर फर्किसकेका छन् । अस्पतालमा २२ शय्याको आइसोलेन सेन्टर छ ।

संक्रमितलाई राख्न थालेदेखि अस्पतालामा उपचार गर्न आउने सर्वसाधारणको संख्या ५० प्रतिशतले घटेको कांग्रेस क्षेत्रीय सभापति गणेश पोखरेलले बताए ।

‘अन्यमा पनि संक्रमणको जोखिम बढेको छ,’ उनले भने । यसका लागि कांग्रेस क्षेत्रीय समितिले सोमबार प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामार्फत प्रधानमन्त्री केपी ओली र प्रदेश मुख्यमन्त्री शेरधन राईलाई ज्ञानपत्र पठाएको छ ।

प्रदेश सरकारले मेची अस्पताल मातहत रहने गरी झापामा एउटा कोभिड अस्पताल निर्माण गर्ने चार महिनाअघि नै निर्णय गरिसकेको छ । तर, जिल्लास्थित सरोकारवाला निकायको ढिलासुस्तीका कारण कोभिड अस्पताल निर्माणमा ढिलाइ भएको मुख्यमन्त्री राईको भनाइ छ ।

पाँच दिनअघि जिल्लास्थित अर्जुनधारा नगरपालिकाको विभिन्न कार्यक्रममा सहभागी बन्न आएका मुख्यमन्त्री राईले कोभिड अस्पताल निर्माणमा ढिलाइ गरेको भन्दै जिल्ला समन्वय समिति (जिसस) लगायतको आलोचना गरेका थिए ।

उनले प्रदेश सरकारले अस्पताल निर्माणका लागि दुईपटक रकम निकासासमेत गरिसकेको जानकारी दिए । मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा पीताम्बर ठाकुरले कोभिड अस्पताल निर्माणको काम धमाधम भइरहेको जानकारी दिए । कान्तिपुरबाट