झापा । बुधबार बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचाररत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमल गाउँपालिका-३का ८३ बर्षिय वृद्ध ज्वरो आएपछि पाँच दिनअघि बिएण्डसी हस्पिटल भर्ना भएका थिए । उनलाई विएण्डसीको आइसोलेशन कक्षमा राखेर उपचार गराइएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम राईले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टिभएसँगै उनलाई थप उपचारका लागि धरानस्थित कोभिड अस्पताल लगिएको राईले बताए । बिएण्डसी हस्पिटलले कोरोना आशंका गरिएका बिरामीको उपचारका लागि बेग्लै आइसोलेशन कक्ष र स्वास्थ्यकर्मीको व्यवस्था गरेको जनाएको छ ।

उनीसँगै बुधबार झापामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा दमकका १३ जना रहेका छन् । केही दिन अघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएका मध्ये १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

जसमा तीन जना सशस्त्र प्रहरी रहेका छन् । दुईजना नेपाल टेलिकम दमकका कर्मचारी भएको जनाइएको छ । त्यसैगरी दमक –५को होम क्वारेन्टाईनमा बसेका ३१ वर्षका एक पुरुषमा पनि संक्रमण देखिएको छ । अन्य ७ जना बिभिन्न देशबाट आएर दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

बिर्तामोड –६ का २३ वर्षिय पुरुषमा पनि बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका उनी मेची आँखा अस्पतालको क्वारेन्टाइनमा रहेका थिए ।

बाह्रदशी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाह्रदशी –१ का पुरुष र बाह्रदशी–५ की महिलामा कोरोना पुष्टि भएको हो । पुरुष दुबइबाट आएर पशुपति मावि क्वारेन्टाइनमा बसेका थिए भने महिला भारतको सिमा कदुभिट्टाबाट फर्केकी हुन् ।

गत साउन २७ गते ६७ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये ३७ जनाको रिपोर्ट आउँदा २ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी खेमराज साहले बताए ।

त्यस्तै बुधबार नै कचनकवल गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा कचनकवल –४ का १८ वर्षिय युवक रहेका छन् । भारतको हैदरावादबाट फर्केर उनी कचनकवल– ३स्थित पथरिया मावि क्वारेन्टाइनमा बसेका थिए । प्रतिदिनबाट