झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा पनि समुदायका एक ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएपछि निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय भएकाे छ ।

गौरीगञ्ज ६ का ३० वर्षिय पुरुषमा आज संक्रमण पुष्टि भएको हो । ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना देखिएको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए ।

आइतबार ५८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाउँदा एक जनाको रिपोर्ट पोजिटिभ आएको उनले जानकारी दिए । संक्रमित ब्यक्तिको गौरीगञ्ज बजारमा ठूलो डिपार्टमेन्ट स्टोर रहेको छ । त्यसमा १० भन्दा बढी कामदार कार्यरत छन् ।

संक्रमित ब्यक्तिसँग धेरै जनाको सम्पर्क भएको हुनसक्ने आशंकामा आजदेखि नै कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको मिश्रले बताए । उनका अनुसार आज ६० जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । गौरीगञ्ज गाउँपालिकाले मंगलबारदेखि आंशिक रुपमा लकडाउन गरेको थियाे ।

यसैबीच, बिहीबार रातिदेखि लागु हुने गरी गाउँपालिकाले केही वडामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ । अन्य स्थानमा पनि संक्रमण फैलनसक्ने अवस्थालाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

उनका अनुसार पालिकाको ३, ४ र ५ नम्बर वडामा निषेधाज्ञा जारी गर्नका लागि प्रशासनमा लेखी पठाउने निर्णय भएको छ । उनका अनुसार पूर्वको किस्ने खोला, पश्चिम रतुवा खोला, उत्तर गौरादह नगरपालिकाको सिमाना र दक्षिणमा भारतीय सिमानामा पूर्णरुपमा सिल गरिनेछ ।

दूध बिक्री वितरण बिहान ७ देखि ९ बजे, एम्बुलेन्स, दमकल सञ्चालन हुनेछ भने स्वास्थ्य सेवा दिने क्लिनिक, फार्मेसी सञ्चालन हुने छन् । त्यस्तै, बैंक वित्तीय संस्थालगायत वडा कार्यालय पनि बन्द रहनेछ ।

सार्वजनिक सवारीसाधन, बजारक्षेत्र बन्द रहनेछन् । गाउँपालिकाको हकमा तोकिएका कर्मचारीलाई मात्र उपस्थित गराउने र अन्य सम्पूर्ण सेवाहरु बन्द रहने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।