मोरङ । प्रदेश एक सरकारले विराटनगरको कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा बिहीबारबाट आईसीयू र भेन्टिलेटर सहितको सेवा सुरु भएको जनाएको छ ।

आईसीयू र भेन्टिलेटर सहितको सेवा सञ्चालन नगरेको भन्दै चौतर्फी विरोध भइरहेका बेला प्रदेश सरकारले बिहीबारदेखि सेवा सुरु भएको घोषणा गरेको हो ।

उपचार केन्द्रमा १० वटा आईसीयू र ५ वटा भेण्टिलेटर सेवा सञ्चालन गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । तर, आईसीयू र भेण्टिलेटर सेवा सञ्चालनका लागि कोशी अस्पतालले यसअघि माग गरेको उपकरण र जनशक्तिको व्यवस्थापनै नगरी मन्त्री घिमिरेले सो सेवा सुरु भएको घोषणा गर्नु भएको हो ।

‘आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति पहिलो दुई साताका लागि कोशी अस्पताल र कोभिड–१९ उपचार केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई खटाउने निर्णय गरेका छौं,’ मन्त्री घिमिरेले भन्नुभयो, ‘थप जनशक्ति व्यवस्थापनका लागि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम आईतबारबाट सञ्चालन गर्ने तयारी छ ।’

आईसीयू र भेण्टिलेटरमा अक्सिजन सकिएपछि अटोमेटिक मेसिन अभावमा हातले अर्को सिलिण्डर जोड्नु पर्ने भएकाले बिरामीलाई उपचारमा समस्या भएको कोशी अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा। चुमनलाल दासको भनाई थियो ।

उहाँले यसअघि आईसीयू र भेण्टिलेटर सेवा सञ्चालनका लागि आवश्यक उपकरण र १ सय ५ जना जनशक्ति उपलब्ध गराई दिन मन्त्रालयसँग माग गरेको थियो । अक्सिजनको लागि अटोमेटिक मेसिन एक हप्ता भित्र उपचार केन्द्रमा उपलब्ध गराइसक्ने मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले बताउनुभयो ।

कोरोनाको लक्षण देखिएकालाई कोभिड–१९ उपचार केन्द्रमा र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताउनुभयो । ‘कोरोना संक्रमणको लक्षण देखिएका बिरामीलाई उपचार केन्द्रमा ल्याईनेछ,’ उहाँले भन्नुभयो, ‘लक्षण नदेखिएका सामान्य प्रकृतिका संक्रमितलाई सम्बन्धित स्थानीय तहमै आईसोलेसनको व्यवस्थापन गरी राख्ने प्रबन्ध मिलाएका छौं ।’

कोभिड उपचार केन्द्रको आईसीयुमा हाल ३ जना संक्रमित उपचाररत रहेको उहाँले बताउनुभयो । गत चैत २१ गते उद्घाटन गरिएको कोरोना उपचार केन्द्रमा बैशाख ५ गतेदेखि सञ्चालनमा आएको हो ।

उपचार केन्द्रमा हालसम्म ३ सय १५ जना भर्ना भएका छन् । भर्ना भएकामध्ये २ सय ७४ जना डिस्चार्ज भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ ।

संक्रमितको उपचार अभाव र चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दायर भएको छ । रिट उपर सुनुवाही गर्दै उच्च अदालतका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले बिहीबार कारण देखाउ आदेश जारी गरेको छ ।

रिट निवेदनका कारण मन्त्रालयले आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन बिना नै आईसीयू र भेण्टिलेटर सहितको दोस्रो श्रेणिको सेवा सुरु भएको हतारमा घाषणा गरेको हो ।

उपचार केन्द्रमा हाल १७ महिला र २४ पुरुष गरी ४१ जना उपचाररत रहेको अस्पतालका संयोजक डा। दीपक सिग्देलले जानकारी दिनुभयो ।

उपचार केन्द्र सञ्चालनका लागि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दास, डा दीपक सिग्देल, डा डेन आचार्य, डा रुपेश गामी सहितको विशेषज्ञ टोली खटाइएको सचिव कार्कीले बताउनुभयो । अस्पतालको व्यवस्थापनका लागि मन्त्रालयका सचिव कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेत र जनस्वास्थ्य अधिकृत एपोलो भगत सहितको टोली खटाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ । जसमा १ हजार १ सय ५३ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् भने १३ जना संक्रमितको मृत्यु भइसकेको छ । हालसम्ममा ७३ हजार ५ सय ५३ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयलले जनाएको छ ।