झापा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेको संख्या ३० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा थप ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १३ हजार ५७९ परीक्षणमा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ ।

थप २५० जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ । कुल संक्रमितमध्ये ५९.८ प्रतिशतले कोरोना जितेका हुन् ।

यस्तै शुक्रबार थप ११ जनाको कोरोनाबाट ज्यान गएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।