इलाम । दलितसँग विवाह गरेकै कारण छोरीलाई मरेका आफ्नै बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिनेहरु तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

इलामको माई नगरपालिकास्थित वडा नं २ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई दलितसँग विवाह गरेको कारण बुवाको अनुहार हेर्न र काजकिरिया समेत गर्न नदिएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

उनको जाहेरीको आधारमा प्रहरीले यामकलाको भाइ टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र ठूलो बुवाकी छोरी पार्वती आचार्य बजगाईंलाई पक्राउ गरेको हो ।

जातीय भेदभाव भएको भनी यामकलाले दिएको जाहेरीका आधारमा भाइ टिकारामसहित ३ जनालाई पक्राउ गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक नवीनकुमार राईले बताए ।

उनीहरुलाई थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक राईले बताए ।

बुवाको मृत्युपछि घरमा र घाटमा समेत बुवाको मुख हेर्न नदिएको पीडा पोखेकी यामकलाले भनिन्, ‘मलाई काजकिरिया गर्नबाट समेत बञ्चित गरियो । उनीहरुलाई पक्राउ गरेपछि न्याय पाउँछु कि जस्तो लागेको छ । मेरो भावी पुस्ताले यस्तो विभेद र अपमान भोग्नु नपरोस् भनेर नै न्याय माग्न प्रहरी प्रशासनसम्म पुगेको हुँ ।’

करिब १२ वर्षअघि दलितसँग विवाह गरेकै कारण माइती घरसँगको सम्बन्ध टुटेकी यामकलाका बुवाको गत साउन २० गते निधन भएपछि घटनाक्रम विकास भएको थियो । उनले माइती घरभन्दा करिब तीन सय मिटर उत्तरमा घर भएका रत्नबहादुर विश्वकर्मासँग बिवाह गरेकी थिइन् ।

त्यसबीचमा उनलाई माइती पक्षले बोलाएका थिएनन् । उल्टै गाली, बेइज्जती र अपमान गरेको उनी बताउँछिन् । दलितसँग बिवाह गरेकै कारण विभेद भोग्न बाध्य पारिएकी यामकलाका ३ जना सन्तान रहेका छन् ।