इलाम । इलाममा समुदायमा कोरोना संक्रमण फैलिन थालेको छ । क्वारेन्टिनमा राखिएका व्यक्ति, सुरक्षा गण हुँदै समुदायस्तरमा कोरोना पुष्टि भएको हो।

जिल्लाको सन्दकपुर गाउँपालिका–४, माबुका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। साउन तेस्रो साता यहाँका ५० जनाको पिसिआर परीक्षण गर्दा एक जनप्रतिनिधिसहित स्थानीय जलविद्युत आयोजनाका तीन कर्मचारीमा कोरोना देखिएको थियो।

त्यसपछि २७ र पुनः १ सय २७ स्थानीयको स्वाब संकलन गरी पठाइएकामा शुक्रबार चार जनामा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ।

संक्रमित हुनेमा यसअघि संक्रमित भएका जलविद्युतका कर्मचारीका परिवार र वडा ३ का अर्का युवक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए।

इलामस्थित स्वास्थ्य कार्यालयले जिल्लामा कोरोना संक्रमण समुदायमै पुगेको जनाएको छ। कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले सन्दकपुरमा पुष्टि भएको संक्रमणबाट समुदायमै कोरोना पुगेको पुष्टि भएको बताए।