उदयपुर । उदयपुरमा थप ५ दिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस को संक्रमण समुदाय स्तरमै बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिसमा सुरक्षा समितिले तीन वटा नगरपालिकामा थप ५ दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

यसअघि श्रावण २९ गते मध्यरातबाट भाद्र ७ गतेको मध्यरातसम्म १२ दिन निषेधाज्ञा लगाइएकोमा यस अबधिमा थप चार जनामा संक्रमण देखिएकाले निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।

कोरोना भाइरस एकिन गर्न गरिने थ्रो स्वाब लिइएका ब्यक्तिहरुको रिपोर्ट नआउन्जेल कोही पनि बाहिर निस्कन पाउने छैनन् । सर्त उलंङ्घन गर्नेलाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गरिने जनाइएको छ ।

जारी निषेधाज्ञामा बिहान ९ बजे देखि १२ बजेसम्म दैनिक उपभोग्य खाद्यन्न पसल खोल्ने र बाँकी समय ठप्प राख्ने निर्णयमा उल्लेख गरिएको छ।

अत्यावश्यक सेवाका मेडिकल, पानी, दूधका गाडी, एम्बुलेन्स, दमकल सेवा, सुरक्षा, स्वास्थ्यकर्मीका सवारी साधन भने निर्बाध चल्नेछन ।

जिल्लास्थित मालपोत कार्यालयका ७ जना कर्मचारीमा संक्रमण देखिएपछि गरिएको निषेधाज्ञा अवधिमा शिक्षक, विद्यार्थीलगायत ४ जना कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

यश अवधिमा जिल्लास्थित कार्यालयका राष्ट्र सेवक कर्मचारीलाई बिदा वा काजमा बस्न नदिन र सरुवा भइ आएका कर्मचारीलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन कार्यालय प्रमुखहरुमा जानकारी गराइएको छ ।

उदयपुरमा ३० जना महिलासहित १ सय ११ जनामा कोरोना भाइरस पुष्टि भएको उदयपुर स्वास्थ्य प्रमुख मोहन सुबेदीले जानकारी दिनुभयो ।