इलाम । इलाम सदरमुकामकै पहिलो निजी अस्पताल इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले मंगलबारबाट आफ्नो सेवा शुभारम्भ गरेको छ ।

इलाम नगरपालिका वडा नं ६ सिङफ्रिङमा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पताल रहेको भवनबाट संचालन हुने गरी एक कार्यक्रमका बीच सेवा सुरु गरेको हो ।

अस्पताल संचालक कम्पनीका अध्यक्ष डा सजयकुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रम इलाम नगरपालिका वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष नुतनदेव दुलाल, उद्योग वाणिज्य संघका उपाध्यक्ष मदन श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटीका सभापति शिव गौतम, हिमालयन हेल्थ केयरका प्रतिनिधि धर्म गौतम लगायतका शुभकामना साथ अस्पतालमा आएको पहिलो सेवाग्राहीको उपचार गर्दै अस्पताल संचालनमा आएको जानकारी गराईएको थियो ।

अस्पताल संचालक प्रकाश चापागाईंका अनुसार भदौ १५ गतेसम्म अस्पतालमा आउने सेवाग्राहीहरुलाई ओपिडी सेवा शुल्कमा सतप्रतिशत छुट दिईने छ । उनका अनुसार हाल यस अस्पाल १५ शैय्याको मात्र भएकोले नेपाल सरकारबाट उपलब्ध हुने स्वास्थ्य बिमा सुविधा भने उपलब्ध हुने छैन ।

निकट भविष्यमा अस्पतालको स्तरोन्नति गरेर उक्त सुविधा पनि प्रदान गर्ने लक्ष्य लिईएको अस्पताल संचालक समितिका सदस्य डा विवेक अधिकारीले जानकारी दिए ।