दमक । झापाको दमक नगरपालिकाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमकका औषधि ब्यवसायीसहित थप १५ जनाको कोरोना परिक्षणको रिपोर्ट पोजिटिभ आएको नगरपालिका स्वास्थ्य शाखाले बताएको छ ।

आज संक्रमण देखिएकामा २२ देखि ७२ बर्ष उमेरसम्मका ६ जना महिला र ९ जना पुरुष रहेका छन् । संक्रमण देखिएकामा दमक वडा नम्बर १ का १ जना, वडा नम्बर ४ का होम क्वारेन्टाईनमा बसेका १ जना र कन्ट्याक ट्रेसिङका १ जना, वडा नम्बर ५ का १ जना, वडा नम्बर ६ का ५ जना, वडा नम्बर ९ का ६ जना रहेका छन् ।

उनीहरुको एक साताअघि स्वाब सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको थियो । आज संक्रमण पुष्टि भएका मध्ये दुई जना औषधि ब्यवसायी हुन् । उनीहरु कसैमा पनि लक्षण भने नदेखिएको जनाइएको छ । यो संगै दमकमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

संक्रमितहरु केही नगरपालिकाको क्वारेन्टाइनमा रहे पनि अधिकांस भने होम क्वारेन्टाइनमा छन् । अहिले नगरपालिका स्वास्थ्य शाखाको आकस्मिक बैठक बसिरहेको छ । बैठकमा संक्रमितहरुको बसोबास क्षेत्रलाई सिल गर्ने विषयमा छलफल भइरहेको बताइको छ ।