झापा । कोरोना भाइरसको त्रासका बीच झापामा वन्यजन्तुको सिकार हुने गरेको पाइएको छ । झापा र इलामका वनजंगलबाट वन्यजन्तुको सिकार हुने गरेको पाइएको हो ।

सिकारीहरूले वन्यजन्तुको सिकार गरी मासु, हड्डी र छाला चर्को मूल्यमा बिक्री गर्ने गरेको स्थानीय बताउँछन् । यस क्रममा सशस्त्र प्रहरीले झापाको बुद्ध शान्ति गाउँपालिका ५ स्थित पानीघट्टाबाट हरिणको मासु बरामद गरेको छ ।

केही व्यक्तिहरूले जङ्गलबाट हरिण ल्याएको र त्यसलाई मारेर मासु काटी रहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस टिमाईबाट खटिएको टोलीले मंगलबार राति हरिणको मासु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले घटनास्थलमा हरिणको मासु फेला पारेको थियो ।

तर, घटनामा संलग्न व्यक्तिहरू सशस्त्र प्रहरी पुग्नासाथ फरार भएको जनाइएको छ । यता सशस्त्र प्रहरीले बरामद गरेको हरिणको मासु डिभिजन वन कार्यालय झापाका रेन्जर कुलप्रसाद भट्टराईलाई जिम्मा लगाएका थिए ।

अन्दाजी २० किलो हरिणको मासु बरामद गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो ।

घटनास्थलमा हरिणको सिङ भएको ठाउँ र शरीर दुवै फेला परेको उहाँले बताउनुभयो । पछिल्लो समयमा झापा र इलामको जङ्गलमा हरिणको सङ्ख्या वृद्धि हुँदै गइरहेकोले यस्तो घटना हुन पुगेको उहाँले बताउनुभयो । (तस्वीर सांकेतिक)