झापा । झापा गाँउपालिका ३ कामाटोलीमा स्थानीय बासिन्दासँग नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग भएको झडपमा परी एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागेर कामाटोलीका ३८ वर्षीय रमिकुल आलम घाइते भएका थिए । उनको पेटमा गोली लागेको बताइएको छ ।

गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेको थियो । स्थिति सामान्य पार्न र आत्मरक्षाका लागि सशस्त्रले गोली चलाएको बताएको छ।

सोक्रममा गोली लागी गम्भीर घाइते भएका ३८ वर्षीय आलमको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । स्थिति गम्भीर भएकाले केही भन्न नसकिने अस्पताल प्रशासनले जनाएको छ ।

स्थानीयले काटेको गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीय आक्रोशित भई आक्रमण गरेको प्रहरीले बताएको छ । सो क्रममा दर्जनौँको समूहमा रहेका स्थानीयहरु टायरको पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि जाइलागेका थिए ।

झडपका क्रममा प्रहरीका प्रहरी निरीक्षक र सशस्त्रका एक जवान घाइते भएको जनाइएको छ । स्थितिलाई शान्त पार्नका लागि सशस्त्र प्रहरीको टोलीले एसएलआरबाट १० राउण्ड फायर गरेको बताइएको छ ।