पर्वत पोर्तेल,
कामाटोली, झापा । झापा गाउँपालिका–३ रुहीमारीका ३८ वर्षीय रफिकुल आलम बुधबार बिहानै काममा निस्किएका थिए । उनी सुरुङ्गाका एक व्यक्तिको ट्याक्टर चलाउँथे । दिनभरि गिटी, वालुवा ओसार्ने काम गर्थे । बुधबार साँझ पनि काम सकेर घर फर्किएका थिए ।

कामाटोली बजार क्षेत्रमा भीडभाड र विरोध प्रदर्शन देखेपछि सडक किनारमा मोटरसाइकल पार्किङ गरेर भीडमा मिसिएका मात्रै थिए । त्यहीबेला प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न एक राउन्ड हवाई फायरिङ गऱ्यो । भीड तितरबितर भयो । उनी पनि भाग्न खोज्दै थिए । त्यही क्रममा उनको पिठ्युँमा गोली लाग्यो । सडकमै ढले ।

प्रत्यक्षदर्शी रफिकुलका भाइ सामसुल हकले सुनाए, ‘ढाडबाट पसेको गोली अगाडि निस्कियो । सडक रगताम्ये भयो । हतार–हतार उपचारका लागि बिर्तामोड पुऱ्याइयो । तर, अस्पतालमा उपचारकै क्रममा उनको ज्यान गयो ।’

‘मेरा दाइ अनाहकमा मारिनु पऱ्यो,’ सामसुलले भने, ‘दाइ यहाँको घटनाबारे थाहा समेत थिएन । के हुँदैछ भनेर हेर्न मात्रै गएका थिए । भीडमा जानु नै उनको मृत्युको कारण बन्यो ।’

रफिकुलका श्रीमती र पाँचजना छोराछोरी छन् । परिवार पाल्ने जिम्मा यिनै ३८ वर्षियको काँधमा थियो । रफिकुलको शव अस्पतालमै छ । प्रहरीले अनाहकमा ज्यान लिएको भन्दै उनका आफन्त र मुस्लिम अगुवाहरुले शव उठाउन मानेका छैनन् । मुस्लिम अगुवा मोहम्मद ताहिरले रफिकुललाई सहिद घोषणालगायतका माग पूरा नभएसम्म शव नउठाउने जनाए । उनले भने, ‘माग पूरा नभएसम्म शव उठ्दैन, आन्दोलन जारी राख्छौं ।’

कत्लावारीका ताजामुल हकले बुधबार दिउँसो घरमै गोरु काटेको खबर थाहा पाएपछि इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले उनको घरमा छापा मार्दै ताजामुल र उनका आफन्त अव्दुल सलामलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई प्रहरीले ‘गौ हत्या’को आरोपमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय झापा पठाउने क्रममा मुस्लिम समुदायले अवरोध गरेपछि झडप भएको थियो । झडपकै क्रममा प्रहीले चलाएको गोलीले रफिकुलको मृत्यु भएको हो । कान्तिपुरबाट