अर्थ बजार

कोरोना कहरः पूर्वी पहाडमा थन्कियो करोडौंको छुर्पी

By admin

August 29, 2020

इलाम । कोरोनाको संक्रमणका कारण छुर्पीको निकासी ठप्प भएपछि प्रदेश १ मा रहेका साना-ठूला गरी ९ सय उद्योग प्रभावित भएका छन्।

प्रदेश १ बाट युरोप अमेरिकासहित १४ मुलुकमा छुर्पी निकासी हुँदै आएको थियो। पूर्वी नेपालको पहाडी क्षेत्रबाट कुकुर र बिरालोको लागि वार्षिक ९० करोडको दूधको छुर्पी ती मुलुक निकासी हुँदै आएको थियो।

नेपालको छुर्पी ‘डग च्यू’को रुपमा ती मुलुकहरुमा निकासी हुँदै आएको थियो। तर, अहिले अधिकांश छुर्पी उद्योग बन्द रहेका छन् भने सञ्‍चालनमा रहेका उद्योगले पनि उत्पादन भण्डार गर्नु बाध्यता छ।

तयारी अवस्थामा रहेको छुर्पीसमेत नेपालबाट निकासी हुन सकेको छैन। प्रदेश १ का पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायत पूर्वी पहाडी जिल्लामा छुर्पी उत्पादन हुँदै आएको छुर्पी कुकुर र बिरालोको खाजाको रुपमा अमेरिका, क्यानडा, युरोप, जापान, कोरिया लगायतका १४ देशमा बिक्री हुँदै आएको थियो।

सबैभन्दा बढी इलाममा मात्र ५ सय ९० छुर्पी उद्योग छन्। अन्य जिल्लामा समेत गरी साना ठूला करिब ९०० उद्योग रहेका छन्।

फिक्कल डेरी उद्योगका संचालक दिनेश महतले गत वर्ष २६००० किलो छुर्पी राजधानीको मनराम हिमालय हेण्डीक्राफ्टमार्फत अमेरिका, जापान र कोरिया पठाएका थिए। गत वर्ष उनले दुई करोड ३४ लाखको छुर्पी विक्री गरेका थिए।

यो वर्ष कोरोना भाइरसको कारण विश्व नै आक्रान्त बनेपछि छुर्पीको अर्डर नआएकाले उद्योगमा उत्पादित ठूलो परिमाणको छुर्पी थकिएको उनले बताए। राजधानीका हिमालयन डक च्यूबाट पूर्वी नेपालमा उत्पादित छुर्पी तेश्रो मुलुक निकासी हुँदै आएको छ।

कोरोनाले छुर्पीको व्यापार चौपट इलामको पूर्वी सन्दकपुर गाउँपालिकाका दूध किसान खेम भट्टराईले गत वर्ष ९०० रुपैयाँ किलोका दरले २४००० किलो छुर्पी अमेरिका लगायतका मुलुक पठाएर दुई करोड १६ लाख आम्दानी गरेका थिए।

तर, यो वर्ष छुर्पी पठाउने सिजनमा कोरोनाका कारण उनको व्‍यापार चौपट भएको छ। ब्यावसायी भट्टराईले आफनो उद्योगथसगै अन्य ३५ वटा साना उद्योगबाट छुर्पी किनेर संकलन गरेर छुर्पी गोदाममा थन्‍किएको छ।

‘कोरोना संक्रमणका कारण विश्व लकडाउनकामा छ,’व्‍यवसायी भट्टराईले भने, विदेश निर्यातका लागि संकलन गरेको सबै छुर्पी गोदाममा थन्‍किएको छ।’

इलामकै सेतो पहाड डेरी उद्योगले गत वर्ष ६० हजार किलो छुर्पी युरोप लगायतका मुलुकमा पठाएको थियो। डेरी संचालक मिलन खत्रीले ५ करोड ४० लाख बराबरको छुर्पी त्पादन गरी विदेशी बजारमा पठाएको बताए। तर, यो वर्ष लकडाउनका कारण पूर्ण क्षमताभन्दा ५० प्रतिशत घटाएर छुर्पी उत्पादन गरिरहेको उनले बताए।

उनले भने, ‘लकडाउनको कारण अबको बजार कस्तो हुने भन्ने चिन्ता रहे पनि छुर्पी उत्पादन गरेर भण्डारण गरिरहेको छु।’

यता, धनकुटा सिधुवाका काशिनाथ निरौलाले सञ्‍चालन गरेको माउण्ट मकालु दुग्ध परिकार उद्योगको निकासीका लागि ठिक्क पारेका १ करोड ३० लाखको छुर्पी स्टक छ। उनलाई लकडउनका कारण यति ठूलो परिणामको छुर्पी रोकिएपछि आफू सडकमै आइन्छ कि भन्ने चिन्ताले सताउन थालेको छ।

यस भेगका सयौँ किसानहरुमापनि उनकै जस्तो एउटै समस्याले पिरोलिन गरेका छन्। उनीसँगै आश्रित सयौं किसान पनि त्यसको प्रत्यक्ष मारमा छन्। यस क्षेत्रमा पनि धेरै किसानले व्‍यावसायिक रुपमा छुर्पी उत्पादन गरी बिक्री गर्दै आएका थिए।

लकडाउनले समस्‍या एक दशकदेखि नेपाली छुर्पी अमेरिका, युरोप लगायतका मुलुकमा पठाउँदै आएका काठमाडौंको मनराम हिमालयन ह्यान्डी क्राटका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठ लकडाउनको कारण भण्डारण गरिएको छुर्पी सुकाउन र प्रोसेसिङ गर्न समस्या भइरहेको बताउँछन्।

लक डाउनको कारण अहिले अन्तराष्ट्रिय बजारमा छुर्पी पठाउन नसकिएको ब्यावसायी श्रेष्ठले बताए। उनले वार्षिक दुई लाख ५० हजार केजी छुर्पी अमेरिका पठाउँदै आएका छन्।

अमेरिकाबाट अन्य मुलुकमा समेत नेपाली उत्पादनको छुर्पी जाने गरेको श्रेष्ठको भनाइ छ। किसानको मूल्यका आधारमा उनले वार्षिक २२ करोड ५० लाख मूल्यको छुर्पी अमेरिका पठाउँदै आएका छन्।

नेपालबाट बढ्दो निकासी व्‍यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार सन् २०१४÷२०१५ मा २ लाख ७५ हजार ९ सय ७५ किलो, सन् २०१५÷२०१६ मा तीन लाख १६ हजार छ सय २८, सन् २०१६÷२०१७ मा तीन लाख ७६ हजार ९९४ किलोग्राम, सन् २०१७÷२०१८ मा ५ लाख ७६ हजार २६१ किलो र सन् २०१८÷२०१९ मा छ लाख ३६ हजार ३४० किलोग्राम छुर्पी १४ वटा देशमा निकासी भएको थियो।

सन् २०१४ देखि २०१९ सम्म तीन अर्ब १६ करोड ९६ लाख ३९ हजार बराबरको छुर्पी निकासी भएको तथ्यांक छ।

कसरी बनाइन्छ ‘डग च्यु’ ? ‘डग च्यू’ एक प्रकारको छुर्पी नै हो। जुन तपाई हामीले खाने छुर्पीभन्दा अलिक फरक हुन्छ। डग च्यूमा चिल्लोको मात्रा शून्य हुनुपर्छ।

तर, मानिसले खाने छुर्पीमा चिल्लोको मात्रा हुन्छ। कुकरलाई घ्यू पच्दैन भन्ने उखान जस्तै साँच्ची नै कुकुरले घ्यू नपचाउने भएकाले छुर्पी बनाउन त्यसमा घ्यूको मात्रा पूर्णरुपमा अलग गरिन्छ।

बिरालो र कुकुरको आहाराको रूपमा अमेरिकालगायत युरोपेली मुलुकमा निकासी हुने छुर्पी बनाउँदा दूधलाई फटाएर विभिन्न प्रक्रियाहरू पूरा गर्दै बनाउनुपर्ने इलाम सन्दकपुरका खेम भट्टराईले बताए।

उनका अनुसार ‘दूध फटाएर तयार पारेको छेनालाई २४ घण्टासम्म गह्रौ वस्तुले किचेर राख्नुपर्छ। त्यसपछि सुरुमा यसलाई हावा मात्रै लाग्ने र चिसो ठाउमा राख्नुपर्छ र क्रमश तातोमा सार्दै लानुपर्छ।’

छुर्पी बनाउने पक्रियापछि त्यसलाई सुकाउन धुवाँ लगाउनुपर्छ। धुवाँ लाग्ने ठाउँ अथवा तलामुनि आगो फुकिन्छ र टाँडमाथि छुर्पी राखेर सुकाउने गरेको उनले बताए।

धुवाँ लागेको छुर्पी कुकरले बढी मन पराउँछ। यसरी एक महिना लगाएर छुर्पी सुकाइन्छ। छुर्पी सुकेपछि संकलनकर्तामार्फत राजधानीका फर्महरुलाई बिक्री गरिन्छ।

युरोप, अमेरिका, क्यानडा, जापान लगायतका देशमा कुकर पाल्न सौखिनहरुले कुकुरलाई हड्डी वा अन्य कृत्रिम वस्तुको सट्टामा फ्याट बिनाको छुर्पी दिने गर्छन्।

हड्डी टोक्दा कुकुरलाई मुखमा घाउ हुने र विभिन्न समस्या हुने भएकाले दाँतको कसरतका लागि छुर्पी दिने गरेका हुन्। चपाउन मिल्ने साथै कुकुरले खाजाको रुपमा पनि खाने भएकाले नेपालको छुर्पी ‘डग च्यू’को रुपमा माग हुने गरेको छ।