अर्थ बजार

भारतले रोक्यो प्याजको निर्यात, नेपालमा मूल्यबृद्धि

By admin

September 15, 2020

झापा । भारत सरकारले प्याजको निर्यातमा रोक लगाएको छ । काटिएको र पाउडर फर्मबाहेक सबै किसिमका प्याजको निर्यातमा प्रतिबन्ध लगाइएको छ ।

यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको हो । हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ । वाणिज्य र उद्योग मन्त्रालयले एक अधिसूचना जारी गर्दै यस्तो आदेश दिएको हो ।

यो प्रतिबन्धको दायरामा बेंगलुरु र कृष्णापुरममा फल्ने प्याज पनि पर्दछन् । अधिसूचनामा लेखिएको छ, ‘प्याजका सबै किसिमको निर्यातमा तत्काल रोक लगाइएको छ ।’ भारत सरकारले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्यबृद्धि भएको छ ।

हिजोबाट नेपालमा प्याजको मूल्य बढेको व्यापारीहरुले बताएका छन् । खुद्रा प्रतिकेजी ४० रुपैयाँमा पाउने प्याज अहिले व्यापारीहरुले ६० रुपैयाँसम्म बेच्न थालेका छन् । नेपालमा भारतबाट प्याज आयात हुने गरेको छ । भारत सरकारले हिजोदेखि सबै किसिमको प्याजको निर्यातमा रोक लगाएको हो ।

घरेल माग पुरा गर्न र प्याजको मूल्य कम गर्नका लागि भारत सरकारले सो निर्णय गरेको जनाइएको छ । हाल दिल्लीमा प्याज ३५ देखि ४० रुपयाँमा बिक्री भइरहेको छ ।

काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा करोडौं रुपैयाँ मूल्य बराबरको प्याज नेपाल आयात भएको छ । गत आर्थिक वर्ष २०७६/०७७मा काँकरभिट्टा नाका हुँदै ३ अर्व ८८ करोड ३५ लाख ९५ हजार रुपैयाँ मूल्य बराबरका १ लाख १० हजार ९ सय ४८ मेट्रिक टन खाद्यान्न र ताजा तरकारी नेपाल आयात भएको थियो ।

आयातित तरकारीमध्ये प्याज मात्र ३ करोड ६२ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको १ हजार २ सय १० मेट्रिक टन रहेको कार्यालय प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईले बताए । तर, यस अघिका दुई आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने प्याजको अझ धेरै आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा काँकरभिट्टा नाका भएर १३ करोड ५९ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको ४ हजार ५ सय ३१ मेट्रिक टन प्याज भारतबाट आयात भएको देखिन्छ ।

त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड २७ लाख २० हजार रुपैयाँ मूल्य बराबरको ५ हजार ४ सय ५४ मेट्रिक टन प्याज भारतबाट आयात भएको कार्यालय प्रमुख राईले बताए ।