समाज

अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत भूर्तेलको सरुवा, खाम्याहाङ आउँदै

By admin

September 18, 2020

झापा । सरकारले ९ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विभिन्न स्थानीय तह तथा प्रदेशमा कार्यरत उपसचिवहरूलाई प्रदेश मन्त्रालय र स्थानीय तहमा सरुवा गरेको हो ।

जसअनुसार अर्जुनधारा नगरपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलको पनि सरुवा भएको छ । भुर्तेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ मा सरुवा गरिएको छ । भूर्तेलको स्थानमा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ आउने भएका छन् । खाम्याहाङ यसअघि इलाम नगरपालिकामा थिए ।

त्यस्तै, माई नगरपालिका इलामका दिनानाथ लम्साललाई मेचीनगर नगरपालिका झापा, रतुवा माई नगरपालिका मोरङका राजेन्द्र भट्टराईलाई गौरादह नगरपालिका झापा, गौरादह नगरपालिकाका खेमराज ओझालाई रतुवा माई नगरपालिकामा सरुवा गरेको छ ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ मा कार्यरत गणेशप्रसाद दाहाललाई बिर्तामोड नगरपालिका झापा, जिरी नगरपालिका दोलखाका शिवप्रसाद रिजाललाई बागलुङ नगरपालिका बागलुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका ध्रुवकुमार कोइरालालाई भेरी नगरपालिका जाजरकोट सरुवा गरिएको छ ।

मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका उपसचिव गणेशसिंह ऐरीलाई अमरगढी नगरपालिका डडेलधुरामा सरुवा गरेको छ । मन्त्रालयले मंगलबार मात्रै २५ जना उपसचिवहरूको सरुवा गरेको थियो ।