सुजता सुनुवार, इलाम । माङ्गसेबुङ्ग गाउँपालिका–२ इलामका राजकुमार राई चौथो पटक विदेश जान भन्दै घरबाट बिदा मागेर काठमाण्डौं हिँडे । तर, लकडाउनका कारण विदेश जाने जहाज उडेन । घर फर्कने गाडी पनि चलेनन् ।
कुनै दिन त जहाज खुल्ला र विदेश जान पाइएला भन्ने आशमा दुई महिना काठमाण्डौमा बसे । बोकेको खर्च सकियो । काठमाण्डौ सहरमा कति दिन बस्ने ? त्यसपछि गाउँ फर्कनको लागि घरबाट गाडी भाडा मागे । अनि विदेश जाने, कमाउने र जमाउने सोच र सपनालाई छाडेर घर नै फर्के ।
जहाज उडेको भए यतिबेला मलेसियामा पसिना बगाउँदै गरेका हुन्थे राजकुमार । तर, जहाज उडेनन् र त उनले अहिले आफ्नै माटोमा आफ्नो मालिक आफैं बन्न पाए । बाँझो बारी खनेर हराभरा बनाए । उनी भन्छन्, ‘धनको भन्दा मनको आनन्द छ अहिले ।’
राजकुमार समयमै मलेसिया उड्न नपाएपछि उनले बाख्रा पालन सुरु गरेका छन् । महामारी नै भए पनि एक लाख रुपैयाँ ऋण लिएर ३५ वटा बाख्रासहितको फार्म सुरु गरे । परदेशका दुःख सम्झँदै उनी अब यहीँ स्वदेशमै उद्यमी बन्छु भन्ने लक्ष्यका साथ अघि बढिरहेका छन् ।
‘यत्तिको आनन्द त विदेशमा काम गरेर तलब पाउँदा पनि लागेको थिएन’, राजकुमार आफ्नो अनुभव सुनाउछन् ।
राजकुमारले स्थानीय जातका बाख्रा पालनबाट फार्म सुरु गरेका छन् । बोयर, जमुनापारी लगायतका उन्नत जातका बाख्रापालन गर्ने उनको भावी योजना छ । ३५ मुरी फल्ने खेतमा ७० मुरी फल्ने गरी खेती विस्तार गरेका छन् । अब अम्रिसो र अलैंची पनि लगाउने सोच छ उनको ।
पाँच जनाको परिवार पाल्न राजकुमारले १२ वर्ष विदेशमा पसिना बगाउनु प¥यो । मलेसियामा पाँच वर्ष, साउदीमा चार वर्ष र कतारमा तीन वर्ष बिते उनको । विदेश छँदा सबैभन्दा धेरै दुःख उनी कतारमा रहँदा भयो । सप्लायर्स कम्पनीमा सामान डेलिभरी गर्ने काम थियो ।
उनी दुःखेसो पोख्दै भन्छन्, ‘आफ्नै पैसामा बेचिएर जानु छ, अरुको देशमा अरुकै शासनमा चल्नु छ, काममा पेलिनु छ, यत्तिका वर्ष विदेशमा बिताएँ, केही उपलब्धि हासिल भएन, नगरेर पो नभएको रहेछ त गर्दा त हुने रहेछ नि ।’
कम्पनीको व्यवस्थापन पक्ष नराम्रो भएकाले उनलाई प्रहरीले पक्राउ गरिरहन्थ्यो । एक पटक त जेल चलान नै ग¥यो प्रहरीले । १२ घण्टासम्म भोक भोकै जेलमा बस्नुप¥यो । अवैध सामान ल्याएको भन्दै प्रहरीले पक्राउ गर्न थालेपछि राज कतार छाडेर नेपाल फर्के ।
१२ वर्ष विदेशमा गरेको दुःखले नै हो उनलाई दुःख गरे विदेशमा मात्र होइन स्वदेशमा पनि केही गर्न सकिन्छ भनेर सिकाएको पनि । धेरैको सोच त विदेशमा दुई चार वर्ष कमाएपछि नेपालमा बाँकी जीवन सुखैमा काटौंला भन्ने पनि हुन्छ । तर, राजकुमारलाई लाग्छ, ‘मानिसले बाचुन्जेल दुःख गर्नैपर्छ । त्यसो हो भने स्वदेशमा किन गर्ने ?’
स्वदेशमा आज कामको जग बसाए भोलि त्यसबाट फाइदा लिन सकिन्छ भनेर बुझेका छन् उनले । त्यसैले पनि अब जति पनि दुःख नेपालमै गर्ने राजकुमारको सोच छ । देशमा काम गर्दा परिवारको साथ र आँटले पनि सफल भइन्छ भन्ने उनको विश्वास छ ।
किसानको छोरो भएकोमा गर्व लाग्छ राजकुमारलाई झैं आनन्द छ सुर्योदय नगरपालिका–१२ का छविलाल अधिकारीलाई पनि । सात वर्ष मलेसिया बसेपछि उनलाई समयको महत्व थाहा भएको छ । मेहनत गरे रोजगारी भन्दै भौंतारिंदै हिँड्न नपर्ने उनको बुझाइ छ ।
सात वर्ष विदेशमा दुःख गरेको रकमले एकतले घर बन्यो । लागेको ऋण चुक्ता भयो । तर, काम नगरी खान पाइने अवस्था आएन । यसैले उनी विदेशभन्दा स्वदेशकै माटो मलिलो बनाउनमा आनन्द मान्न थालेका छन् । बिहान पाँच बजे उठेर छ बजे बारीमा निस्कने छविलाल साँझ छ बजेसम्म त, कहिले नौ बजेसम्म नै बारीमा भेटिन्छन् ।
उनको बारीमा फलेका बालीमध्ये यो साल इस्कुसले राम्रो कमाई दिएको छ । इस्कुस मात्रै एक सय ७० मन, लामधारी (खुर्सानी) एक क्वीन्टल, काँक्रो सात हजार वटा, अकबरे खुर्सानी २० किलो बिक्री भईसकेका छन् । अन्य बालीबाट लगभग उत्पादन सकिए पनि इस्कुसबाट भने अझै आम्दानी भैरहेको छ । यसको जरा समेत बिक्री गर्न सकिने भएकाले यसबाट दोहोरो फाइदा लिन सकिन्छ ।
इस्कुस पाँच रोपनी, काँक्रो तीन रोपनी, घाँस तीन रोपनी, लामधारी (खुसार्नी) दुई रोपनी, अकबरे डेढ रोपनी, अदुवा, सिमी एक एक रोपनीमा छ । इस्कुस भने पाँच रोपनीमा खेती गरिएको छ । यो भने बारी भाडामा लिएर उनले खेती गरेका हुन् । भाडामा लिएको जग्गामा वार्षिक २५ हजार रुपैयाँ तिर्नु पर्छ । यसवर्ष भने इस्कुस थप चार रोपनीमा थप्ने योजना छ उनको ।
छविलालको बाख्रा फार्म पनि छ । २०७६ मा अधिकारी पशुपालन व्यवसाय बाख्रा फार्म दर्ता गरेका हुन् । त्यो बेला भने बुवाले सम्हालेका थिए । छविलाल भने विदेशमै पसिना बगाइरहेका थिए । चार वटा बाख्राबाट सुरु गरिएको फार्ममा अहिले ४६ वटा बाख्रा छन् ।
भर्खरै मात्र १८ वटा बाख्रा बिक्री भइसकेको छ । दशैँ तिहार लक्षित गरी बोका मात्रै ४० वटा तत्कालै फार्ममा थप्दैछन् उनी । पुख्र्यौली कृषि पेशालाई जीविकोपार्जन मात्रै होइन व्यावसायिक बनाउन उनी अहिले दिनरात खटिरहेका छन् ।
नयाँ बाली थप्ने क्रममा भर्खरै मात्र उनले बजार अवलोकन गर्न च्याउ उत्पादनमा समेत लागी परेका छन् । खेती गरेको सुरुकै वर्षमा दुई सय बल च्याउ छ । अझै केही बाँझो बारी बाँकी छ । यसमा पनि आलु रोप्ने, कुखुरा पालन गर्ने र जमिनको सदुपयोग गर्ने उनको भावी योजना छ ।
छुट्टीमा आएका याम अलैँची व्यवसायमा राजकुमार र छविलाललाई जति नै आनन्द याम राईलाई पनि छ । माङ्गसेबुङ्ग गाउँपालिका–२ इलामका यामलाई अलैँचीको व्यावसायिक खेती गर्छु भन्ने लागेको थिएन ।
लकडाउनले रोकिएका उनी अहिले अलैँची खेतीलाई व्यावसायिक बनाउन गाउँघरमै पसिना बगाउदै छन् । भर्खरै मात्र उनले १५० बोट अलैँची बगानमा थपेका छन् । लकडाउनले नै उनलाई व्यावसायिक खेतीमा लाग्न प्रेरित गरेको हो । २०७५ सालमा साउदी पुगेका उनी छुट्टीमा नेपाल आएका थिए । कोरोना महामारीका कारण लकडाउन भयो । कम्पनी मालिकलाई फेरि आउँछु भन्ने बचन दिएर नेपाल आएका उनी पुनः फर्केर जानै पाएनन् ।
योसँगै उनको बगानमा दुई हजार ५० वटा अलैँचीका बोट भएका छन् । यी सबै स्थानीय जातका हुन् । अब भने भार्लाङ्ग, रामसाई, गोल्साई लगायत जातका बिरुवा रोप्ने उनको योजना छ । उनी भन्छन्, ‘जीवनमा जतिबेला कसैको डर, दबाब र खटन हुँदैन त्यो बेला साँच्चै नै आनन्द लाग्दो रहेछ ।’