अर्थ बजार

अर्जुनधारामा पानको व्यावसायिक खेती सुरु

By admin

September 20, 2020

झापा। झापा अर्जुनधारा-९ निवासी त्रिलोचन खरेल विभिन्न प्रकारको पान खान रुचाउँने पानको पारखी हुन् । उनी अहिल पानको पारखीमात्र नभइ पानको व्यावसायिक खेतीका अग्रज कृषक समेत हुन् । उनी झापाका सफल पान व्यवसायीको रुपमा चिनिएका पनि छन् ।

खरेलले तीन वर्षअघि ३ कठ्टा जमिनमा भारतको कलकत्ताको कागदिपस्थित गंगा सागरबाट ४२ सय विरुवा र प्राविधिक ल्याएर बङ्ला पानको व्यावसायिक खेती गर्न सुरु गरेका थिए । भारतबाट ११ सय विरुवा ल्याएर खेती सुरु गर्दा ५ लाख लगानी गरेको बताउदै उनी भन्छन्, ‘भारतबाट विरुवा ल्याउदा चर्को भन्सार तिरेर ल्याउनु पर्छ, नेपाल सरकारले भने हामी व्यावसायिक पान कृषकका लागि कुनै पनि अनुदान दिएको संम्झना छैन्, कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको सरकारको यसतर्फ कहिले ध्यान जाला ?’

आय आर्जनको दिगो श्रोतको सम्भावना देखेर व्यावसायिक पान खेती सुरु गरेको उनी बताउँछन् । नेपालमा खाइने विभिन्न स्वादको पानका पत्ता भारतबाट आइरहेको अवस्थामा खरेलले नेपालमै उत्पादन गरेर लाखौँ रकम आम्दानी समेत गरिसकेका छन् ।

भारतको कलकत्ता पुगेर पान खेतीको तालिम लिएका उनले फर्मबाट दैनिक न्यूनतम् ५ सयको संख्यामा पानको पत्ता बिक्री हुने गरेको बताए । पान पारखीका लागि काली बङ्ला जहाजी (बङ्ला पत्ता)को पत्ता लोकप्रिय भए पनि नेपालमा भने यसको उत्पादन अत्यन्तै कम मात्रामा हुने खरेल बताउँछन् ।

झापामा दैनिक करिब ४० हजार पत्ता खपत हुने र उत्पादनले बजारको मागलाई धान्न नसकिरहेको हुनाले उनले आफू संलग्न स्थानीय कालिस्थान कृषि समूहलाई ३० हजार विरुवा दिएर पान उत्पादनमा लागेको सुनाउँछन् ।

आफूहरुले अर्जुनधारा-१० स्थित कालिस्थानमा ‘कालिस्थान’ नामक समूह गठन गरी करिव ५ कठ्टा जमिनमा संचालन गरेको एसियाकै दोश्रो जातको रुपमा परिचित बङ्ला पान खेती जिल्लाको लागि मात्र नभई नेपालमा पहिलो र नमूना व्यावसायिक खेती रहेको हुन् सक्ने समूहका अध्यक्ष सन्तकुमार तामाङ दाबी गर्छन् ।

उनी भन्छन्, ‘जमिन भाडामा लिएर ८ जना शेयर सदस्य आवद्ध भई व्यावसायिक पानको खेती सुरुवात गरेको छौँ । हालसम्म करिब १५ लाख रुपैँया लगानी भइसकेकोे अवस्था छ । बजारमा देखिएको पानको मागलाई मध्यनजर गरेर खेती सुरु गरेका हौँ ।’

पूर्वको बिर्तामोड, दमक, धरान, इनरुवा, रंगेली, इटहरी र स्थानीय बजारलाई केन्द्रमा राखेर व्यवसाय अगाडि बढाएको उनी सुनाउँछन् । तामाङसहित समूहमा दिनबन्धु पोखरेल, गोपाल शिवाकोटी, त्रिलोचन खरेल, दिपक हुमागाँई, दिपक खतिवडा, फडिन्द्र चापागाइँ रहेका छन् ।

फर्मले यतिबेला स्थानीय ३ जना युवालाई रोजगारी समेत दिएको छ । सरकारले कृषि व्यवसायमा अनुदान दिँदै आए पनि आफूहरुले सरकारको अनुदान बिना नै व्यावसायिक रुपमा खेती अघि बढाइरहेको संचालक सदस्य गोपाल शिवाकोटीले बताए ।

प्रतिपत्ता औसत ३ रुपैँयाका दरले बिक्री हुने र पान १ वटा गाँजले ६५ पत्ता दिने गरेको शिवाकोटी सुनाउँछन् । यसलाई समय-समयमा सिँचाइसँगै भिटामिन आवश्यकता हुने उनी बताउँछन् ।