तीर्थ तिम्सिना, झापा । पछिल्लो केही दिनयता गर्मी बढेसंगै केही शितलताको खोजीमा अहिले इलामको रोङ गाउँपालिका–४ किटेनीमा रहेको ‘स्वागत झरना’ घुम्न जानेहरूको संख्या बढ्दै गएको छ ।
पर्यटकले यहाँ पुगेर वरिपरीबाट घेरिएको वनजंगल र चराचुरुङ्गीको चिर्विरसंगै चिसो ठाउँमा कलकल झरिरहेको झरनाको मनोरम दृश्य अवलोकन गर्दै आनन्द लिने गरेका छन् ।
इलामका पर्यटकीय क्षेत्र त्यसै त अवलोकन तथा भ्रमणका लागि धेरैजसो आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । त्यसमा पनि गर्मी मौसम बढेसंगै झर्नामा रमाउन, नुहाउन र डुबुल्की मार्नेहरुको संख्यामा अत्यधिक बृद्धि भएको स्थानीय होटल सञ्चालक सावित्री लिम्बूले बताउँछिन् । उनले लक डाउन खुलेपछि केही दिनयता झर्ना हेर्न र यहांँ नुहाउँदै खेल्न रमाउन आउनेको लर्को नै लाग्ने गरेको सुनाइन् ।
रोङ गाउँपालिका-४ का वडाध्यक्ष सूर्य राईका अनुसार अघिल्लो वर्ष सामान्य संरचना बनाएर सुरुवात गरिएता पनि पर्यटकको उल्लेखनीय भीड भएसँगै आउँदो आवदेखि व्यवस्थित गर्दै लैजाने भएको छ ।
‘अहिले स्वागत झर्नामा नुहाउन, मनोरञ्जन गर्न आउनेको भीड लागेको छ, बिदाका दिन त झन स्कुले विद्यार्थी र शिक्षकहरू समेत रमाउन आउँछन्’, वडाध्यक्ष राईले भने, ‘स्वागत झर्ना गर्मी छल्ने माध्यमसँगै पर्यटनका लागि पनि प्रमुख गन्तब्य बनेको छ ।’ सामाजिक सञ्जालदेखि लिएर विभिन्न सञ्चार माध्यममा यसबारे जानकारी बाहिर आएपछि यहांँ जानेको भीड बढेको छ ।
पर्यटकहरु आउने क्रम शुरु भएसँगै झरनाको संरक्षण र विकासका लागि गाउँपालिकाले योजना अघि सारेको वडाध्यक्ष राईको भनाइ छ । उनले प्रदेश सरकारसँग सहकार्य गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आफू लागिपर्ने बताए ।
शनिबार र बिदाको दिन स्वागत झर्नामा स्थानीय मात्रै होइन युवायुवती, उमेर ढल्कँदै गरेका प्रौढ, जनप्रतिनिधि, नेता, मोडलदेखि लिएर सञ्चारकर्मी समेत पुग्न थालेका छन् । झर्नामै रमाउँदै रमाइलो गर्दै गर्दा भेटिएका नेता सिपी कडरियाले आफ्नो परिवारलाई केही भए पनि रिफ्रेस गर्न र गर्मी छल्न झर्नामा रमाउन आएको सुनाए । उनले झर्नालाई व्यवस्थित गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके यहाँका स्थानीय बासिन्दाको जीवनस्तर समेत उक्सिन सहयोग पुग्ने बताए ।
त्यस्तै यता झापा नाट्य घरकी कलाकार मुना प्रसाईं समेत झर्नामा रमाइरहेकी थिइन् । उनले लामो समय कोरोना भाइरसका कारण बाहिर निस्किन नपाइरहेको अवस्थामा एकदिन केही मात्रामा भए पनि साथीहरूसँग रमाइलो हुने सोचेर यहाँ आएका सुनाइन् । उनले सोचे, सुनेभन्दा रमाइलो भएको सुनाइन् ।
पछिल्लो समय झर्नामा आउने अधिकांश पर्यटकले समेत आकर्षक स्थान भए पनि यसलाई अझ व्यवस्थित गर्न बाँकी रहेको बताउने गरेका छन् । अर्जुनधारादेखि स्वागत झर्नाको चर्चा सुनेरै घुम्न आएका सञ्चारकर्मी बिष्णु श्रेष्ठले झर्नाको सुन्दरतासँगै बाटोलाई व्यवस्थित गर्न सके पर्यटनकै माध्यमबाट मनग्यै आम्दानी लिन सकिने बताए । उनले यस क्षेत्रको विकासका लागि स्थानीय उपभोक्ता समिति, र स्थानीय निकाय अग्रसर भएर लाग्नुपर्ने बताए ।
यस क्षेत्रमा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थान रहेकाले धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सके स्थानीयको समेत जीवनस्तर माथि उकास्न सहयोग पुग्ने स्थानीय अनन्त अर्याल बताउँछन् । उनले झर्नामा बाह्रै महिना पानी आउने व्यवस्था मिलाउनुका साथै दुई पाङ्ग्रे सवारीसाधन गन्तव्य स्थलसम्म पुर्याउँदै थारै रकमको भए पनि टिकट काट्ने व्यवस्था गर्नसके पर्यटनको थप विकास गर्न सकिने बताए ।
इलाममा नयाँ पर्यटकीय गन्तव्यको रूपमा थपिएको ‘स्वागत झरना’ मेची राजमार्गको झापाको बुद्धशान्ति गाउँपालिका र इलामको रोङ गाउपालिकाको सङ्गम स्थल रहेको जोर कलशबाट करिव ४ मिनेटको यात्रापछि किटेनी पुगिन्छ ।
किटेनीदेखि ५ सय मिटरभित्र तल झरना रहेको छ । जसको उचाई २४५ फिट रहेको छ । उक्त उचाइबाट झरेको पानीको झरना हेर्न पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।