अर्थ बजार

नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनमा

By admin

September 23, 2020

इलाम । नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका १२ वटा चिया उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरिएको छ ।

मंगलबार इलामको फिक्कलमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले १२ वटा चिया उद्योग र सहकारीहरूलाई पहिलो चरणमा ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गर्नुभयो ।

कार्यक्रममा कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुषालले नेपालले उत्पादन गरेको चिया विश्वमै अब्बल गुणस्तरको रहेको बताउनु भयो ।

स्वच्छ हावापानी र उर्बर भूमिमा उत्पादन भएको नेपाली चियाले सबै चिया पारखीहरूको मन जितेको भए पनि नेपालको चिया अन्य मुलुकको ट्रेडमार्क लागेर तेश्रो देशमा लामो समयदेखि बिक्री भईरहेको पनि मन्त्रि भुषालले उल्लेख गर्नु भयो ।

कृर्षि मन्त्री भुषालले विगत एक दशक देखिको निरन्तर प्रयासपछि बल्ल नेपाली चियाले आफ्नै पहिचान पाएको बताउनु भयो ।

अब चीन, अमेरिका र युरोपेली बजारमा पनि नेपाली चियाको विक्रीका लागि आक्रामक ब्राण्डिङ र मार्केटिङ गर्न जरुरी रहेको पनि मन्त्री भुषालले उल्लेख गर्नु भयो ।

विदेशस्थित सबै कुटनीतिक नियोग र महावाणिज्यदुतमार्फत नेपाली चियाको ब्राण्ड प्रवर्द्धन गर्न आफूले समन्वयात्मक भूमिका खेल्ने पनि मन्त्री भुषालले उल्लेख गर्नु भयो ।

नेपालमा चिया खेती गर्न थालेको १५७ वर्ष भएको छ । वि।सं १९२० मा इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापाले इलाममा चिया रोपण गरेर सुरू भएको चिया खेती आज यहाँसम्म आइपुगेको हो ।

नेपालमा हरेक उपभोग्य वस्तु आयात गर्नुपरेको अवस्थामा चियाको उत्पादनमा भने नेपाल आत्मनिर्भर भएको छ ।

पछिल्ला दिनमा नेपाली चिया क्षेत्रले चुनौती र समस्या भोग्दै आएको छ । भारत लगायत तेश्रो मूलुकमा निर्यात गर्दा बेला बेलामा भन्सारमा व्यहोर्नुपर्ने समस्या, चियाको हरियोपत्तीको न्युनतम् मूल्य विवाद, श्रमिकका समस्या र पछिल्लो समय आएर विश्वव्यापी महामारी कोभिड १९ का कारण उत्पन्न समस्या नेपाली चिया व्यवसायले भोग्नु परेको छ ।

चिया तथा कफि विकास बोर्डले गतवर्ष नै ट्रेडमार्क प्रयोगका लागि इच्छुक चिया उद्योगहरूलाई निवेदन दिन सार्वजानिक आह्वान गरेको र त्यसमा ४२ वटा चिया उद्योगहरूले निवेदन दिएका थिए ।

निवेदन दिनेमध्ये निर्देशिकाले तय गरेका मापदण्डहरू पालना गरी चिया उत्पादन गर्ने १२ वटा चिया उद्योगहरूले पहिलो चरणमा ट्रेडमार्क प्राप्त गरेका हुन् ।