समाज

अर्जुनधाराको पानीकलमा ३ बिगाहा धानखेत बाढीले बगायाे

By admin

September 26, 2020

झापा । पछिल्लो केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीले झापाको अर्जुनधारा नगरपालिका-५ स्थित पानीकलमा किसानले लगाएको धानबाली बगाएको छ ।

फुलमती खोलामा आएको बाढीले अर्जुनधारा-५ स्थित पानीकलमा किसानले लगाएको धान खेत कटान गरेको हो । बाढीले राजेन्द्र गिरीको १ विगाहा १० कठ्ठा, भोजराज चौहानको १० कठ्ठा, मनमाया तामाङको १० कठ्ठा, सावित्रा खड्काको १५ कठ्ठासहित अन्य किसानले लगाएको धान खेत बगाएको छ ।

स्थानीय दैवी प्रकोप व्यवस्थापन समितिले कटान रोक्नका लागि सो क्षेत्रमा १ विगाहा जमिनमा लगाएको सिसौं र खयरका ७ सय विरुवा समेत बाढीले बगाएको छ । यसअघि एक सय मिटर उत्तरपश्चिममा रहेको खोलाले क्रमशः धार परिवर्तन गर्दै दक्षिण पूर्वतर्फबाट कटान गर्न थालेपछि गाउँ नै बगाउने भयमा स्थानीय रहेका छन् ।

निरन्तरको बर्षाका कारण प्रभावित स्थानमा जेसीबी लगायतका साधन जान समस्या भएको बताइएको छ । अस्थायी रुपमा बांस र बोरा लगाएर कटान रोक्ने काम गरिए पनि प्रभावकारी नभएको वडाध्यक्ष ध्यानबहादुर भारतीले बताए ।