समाज

सांसद प्रधानले भने, ‘रूख काटेकाे प्रमाण पुर्याए सजाय भोग्न तयार छु’

By admin

September 27, 2020

झापा । प्रदेश नं. १ का सांसद बृख प्रधानले झापाको अर्जुनधारास्थित सुखानी सहिद स्मृति उद्यान परिसरमा कुनै पनि रुख काटिएको घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

उद्यान परिसरमा आइतबार पत्रकार सम्मेलन गर्दै सांदस प्रधानले चरित्र हत्या गर्ने नियतले प्रचारबाजी भएको भन्दै रुख काटेको प्रमाणित गर्नसके जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । गएको सोमबार झापाको अर्जुनधारा-११स्थित सुखानी सहिद स्मृति उद्यान (सालबारी पार्क)परिसरमा सिसौ प्रजातिको तीन वटा रुख काटिएको घटनामा सांसद प्रधानको नाम जोडिएर आएको थियो ।

समाचारमा उल्लेख भएअनुसार आफ्नो कुनै संलग्नता नभएको दोहोर्याएका उनले केही व्यक्तिबाट समाचार सम्प्रेषण गर्न प्रेरित गरिएको पाएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको सांसद प्रधानले ठोकुवा गरे । घटनाको विषयमा सत्यतथ्य र विना प्रमाण एक पक्षीय र व्यावसायिक मर्यादालाई पालना नगरी केही मिडियाहरुले आफूमाथि लाञ्छना लगाएको उनको भनाइ छ ।

उद्यान परिसरमा रहेको कछुवा उद्दार तथा संरक्षण केन्द्रमा सुकेको रुखहरुका कारण हुनसक्ने क्षतिलाई जोगाउन उद्यान व्यवस्थापन समितिको बैठकमा एजेण्डाको रुपमा प्रवेश गरेको रुख काट्ने विषयमा मौखिक सहमति भएको हुँदा समितिले उक्त रुखहरु काटेको उनले प्रष्ट पारे । समितिले नै रुख काट्न लगाएको निर्णयको प्रतिलिपी उनले पत्रकारसामु पेश गरेका थिए ।

समाजकै ध्यान खिच्नेगरी अफवाह फैलाउँदै आफ्नो चरित्र हत्या गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कार्वाही गर्न प्रशासन समक्ष माग गर्दै उनले यस्तो विषयमा राजनीतिक प्रतिशोध नसाँध्न सबैसँग अनुरोध गरेका छन् ।

यता उद्यान व्यवस्थापन समितिले भने परिसरभित्र रहेका सुकेका रुखहरु कटान गर्ने विषयमा अनौपचारिक छलफल भइरहेको अवस्थामा रुख काटिएको स्वीकारेको छ । अचानक वर्षासँगै आएको हावाहुरीले सुकेको रुखका कारण कछुवा उद्दार तथा संरक्षण केन्द्रलाई क्षतिबाट जोगाउन तत्काल तीन वटा रुख काटिएको असोज ८ गते बसेको बैठकले निर्णय गरेको छ ।

बैठकको निर्णयअनुसार कछुवा उद्दार तथा संरक्षण केन्द्रमा जोखिम अवस्थामा रहेका अन्य सुकेको सिसौ प्रजातिको रुखहरु कटान गर्न आवश्यक प्रक्रिया पूरा गरी पहल गर्ने निर्णयसमेत गरेको छ ।