समाज

लकडाउनयता ताप्लेजुङमा भित्रिए साढे ४ सय नेपाली

By admin

September 30, 2020

ताप्लेजुङ । लकडाउन भएदेखि यता मंगलबारसम्म भारतसहित तेस्रो मुलुकबाट गृह जिल्ला ताप्लेजुङ फर्कनेको संख्या साढे ४ सय हाराहारी रहेको पाइएको छ।

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले मंगलबार प्रकाशित गरेको विवरण अनुसार लकडाउन भएयता अहिले सम्ममा भारतसहित तेस्रो मुलुकबाट ४ सय ५२ जना फर्किएका छन्। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईका अनुसार यो अवधिमा भारतबाट मात्रै २ सय ९ तथा तेस्रो मुलुकबाट २ सय ४३ जना ताप्लेजुङ भित्रिएका छन्।

भारतबाट फर्कनेमा बालबालिका छैनन् भने तेस्रो मुलुकबाट ३ जना बालबालिका आएका छन्। भारतबाट १ सय ८८ पुरुष र २१ महिला तथा तेस्रो मुलुकबाट २ सय २६ पुरुष र १४ महिला यहाँ आएका छन्। प्रजिअ चापागाँईका अनुसार यहाँका संस्थागत क्वारेन्टिनमा बसी होम क्वारेन्टिनमा फिर्ता हुनेको संख्या ६ सय ९७ रहेको छ।

उपत्यकासहित बिभिन्न जिल्लाहरुबाट आएकाहरुलाई कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले होम क्वारेन्टिनमा बस्न आग्रह गरेको थियो। सोहि अनुसार १ हजार ४६४ जनाले होम क्वारेन्टिनको सर्त पालना गरी होम क्वारेन्टिनमा बसेको प्रजिअ चापागाँईले जानकारी दिए।

लकडाउन अवधिदेखि अहिले सम्म काबेली नाका हुदै २१ हजार ९१२ जना मान्छेको आवागमन भएको अभिलेख कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिसंग रहेको छ। ति मध्ये १७ हजार ७३ जना भने जिल्लाबाट बाहिरिएका छन्।

अहिलेसम्म ७ सय २ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएकोमा १ तथा बिराटनगरको नोवेल मेडिकल कलेजमा पीसीआर परीक्षण गराइ फर्केका १ सहित २ जना कोरोना संक्रमित ताप्लेजुङ जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचारका लागि भर्ना भएका छन्।

बाँकी ७ जना भने यसअघि नै उपचारपछि घर फर्किसकेका छन्। १० शैयाको ताप्लेजुङ अस्पतालमा उच्च ज्वरोसहितका लक्षण र समस्या देखिएका अरु २ जनापछि उपचारका लागि भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ।

तीन बिभागीय निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकहाँ रहेका ३२ शैयासहित यहाँका २३ स्थानमा २ सय ७३ शैयाका संस्थागत क्वारेन्टिन रहेको नागरिक दैनिकमा समाचार छ ।