खेलकुद

आईपीएलः चेन्नईको अर्को हार, हैदराबादको रोमाञ्चक जीत

By admin

October 03, 2020

दुबई । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरी लगातार दोस्रो जित हात पारेको छ । पहिलो दुई खेल हारेको हैदराबादले त्यसपछिका दुवै खेल जितेर चौथो स्थानमा उक्लेको हो ।

पुछारका दुई टोलीबीचको प्रतिस्पर्धामा अर्को हार बेहोरेपछि चेन्नईले तालिकामा माथि उक्लने मौका गुमाउन पुग्यो । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पराजित गरेयता तीनपटकको विजेता चेन्नईले लगातार तीन खेल हारिसकेको छ । सन् २०१४ यता चेन्नईले पहिलोपल्ट लगातार तीन खेल हारेको हो ।

टस जितेको हैदराबादले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ५ विकेट गुमाई १ सय ६४ रन बनायो । कप्तान महेन्द्रसिंह धोनीले संयमपूर्वक खेले पनि चेन्नईले ५ विकेट गुमाई १ सय ५७ रनमात्र बनाउन सक्यो । धोनी ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरी ४७ रन बनाई अविजित रहे । चेन्नईलाई विजय निम्ति अन्तिम ओभरमा २८ रन आवश्यक थियो ।

अब्दुल समादले अन्तिम ओभरको पहिलो बल वाइड चौका खर्चन पुगे । त्यसपछि पनि चेन्नईले थप १५ रनमात्र बनाउन सक्यो । त्यसमा साम कुरानले अन्तिम बलमा छक्का प्रहार गरे । उनी ५ बलमा दुई छक्कासहित १५ रन बनाई अविजित रहे । रवीन्द्र जडेजाले सर्वाधिक ५० रन बनाए । उनले ३५ बल खेली ५ चौका र २ छक्का प्रहार गरे । उनी १८ औं ओभरमा आउट भए ।

शेन वाटसन १, अम्बाती रायडु ८, कुमार जाधव ३ रन बनाएर आउट भएपछि धर्मराएको चेन्नईबाट फाफ डु प्लेसिसले २२ रन बनाए । चेन्नईका टी नटराजनले ४ ओभरमा ४३ रन खर्चेर २ तथा भुवनेश्वर कुमार र अब्दुल समादले १–१ विकेट लिए ।

यसअघि आईपीएलमा पहिलो सिजन खेलिरहेका प्रियम गर्गले अविजित ५१ रन बनाउँदै हैदराबादको स्कोर हेर्नलायक बनाएका थिए । म्यान अफ द म्याच उनले २६ बल खेली ६ चौका र १ छक्का प्रहार गरे । केन विलियम्सन ११ औं ओभरमा रनआउट हुनुमा दोषी रहेका गार्गले अभिषेक शर्मासँग पाँचौं विकेटमा ७७ रन जोडे । शर्माले २४ बलमा ४ चौका र १ छक्कासहित ३१ रन जाडे ।

जोनी वेरिस्टो शून्य, मनीष पाण्डे २९, कप्तान डेविड वार्नर २८ र विलियम्सन आउट भएपछि यी दुईले इनिङ्स सम्हालेका थिए । चेन्नईका दीपक चाहरले २ तथा शार्दुल ठाकुर र पीयूष चावलाले १–१ विकेट लिए ।

शनिबारदेखि दुई खेल हुनेछ । पहिलो खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर तथा दोस्रो खेल दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच हुनेछ । एजेन्सी