अर्थ बजार

कागतीले मुल्य नपाएपछि अचार बनाउँदै झापाली कृषक

By admin

October 06, 2020

झापा । झापामा व्यावसायिकरुपमा कागती खेती गरिरहेका किसानहरुले उचित बजार मुल्य नपाएपछि आफैँ कागतीको अचार बनाउन सुरु गरेका छन् । यसले गर्दा थप रोजगारी संगै किसानहरुको आम्दानी समेत बढेको छ ।

कामले काम सिकाउछ भने झैँ ठूलो क्षेत्रमा कागती खेती गर्ने किसानले उत्पादनको उचित मुल्य नपाएपछि बिकल्पको खोजी गर्न थालेका छन् । लामो लकडाउन अवधिभर बजार खोल्ने क्रममा उचित मुल्य नपाएपछि झापाको मेचीनगर नगरपालिका वडा नंं १४ का चन्द्र पौडेलले आफ्नै खेतको कागतीको अचार बनाउनु सुरु गर्नुभएको छ ।

उहाँको मोर्डन एग्रिकल्चर कृषि फार्ममा ७ बिगाहा क्षेत्रफलमा झण्डैँ सातदेखि आठ लाख दाना कागती फलेका छन् । तर, बिक्रीमा भने समस्या छ । यसले गर्दा स्थानीय महिलाहरु मिलेर कागतीको अचार बनाउन थालेपछि रोजगार संगै आम्दानी समेत हुन बढेको अचार उद्यमी अनिता खड्काले बताउनुभयो ।

झापा जिल्लामा झण्डै ढेड सय हेक्टर क्षेत्रफलमा बार्षिक आठ सय मेट्रिकटन कागती उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । तर, यो बर्ष उत्पादन राम्रो भए पनि लकडाउनले बजार नपाएपछि कागतीको अर्गानिक तवरबाट अचार बनाउन थालिएको विर्तामोडकी अचार उद्यमी महिला सुमित्रा प्रसाई बताउनुहुन्छ ।

घरेलु तथा साना उद्योग कार्यालय झापामा पछिल्लो समय डेढ दर्जन हाराहारीमा अचार उत्पादन गर्ने लघु उद्योगहरु दर्ता भएका छन् । झापा जिल्लामा मात्र बार्षिक ५० देखि ६० लाख मुल्य बराबरको करिव २० टन अचार उत्पादन हुने उद्यमीले बताएका छन् ।