समाज

भद्रपुर र दमक नगरपालिका थप तीन दिन बन्द !

By admin

October 11, 2020

झापा । कोरोना संक्रमण बढेसँगै थप तीन दिनका लागि झापाको भद्रपुर र दमक नगरपालिका बन्द भएका छन्। नगर क्षेत्रमा कोरोना संक्रमण फैलिने क्रम बढेसँगै ती नगरपालिकाले सूचना निकालेर तीन दिन सम्पूर्ण सेवा बन्द गरिएको जनाएका हुन् ।

आइतबार मात्र दमकमा २५ जना र भद्रपुरमा ३ जनासँगै झापामा ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, शनिबार दमकमा एक महिलासहित ४ जना र २ भद्रपुरमा महिलासहित ३ जनामा संक्रमण पुष्टि भएको थियो ।

असोज २१ देखि २३ गतेसम्म सेवा बन्द गरेको भद्रपुर नगरपालिकाले दोस्रोपटक सूचना निकालेर असोज २७ गतेसम्म सेवा बन्द गरेको जानकारी गराएको छ।

असोज २० गतेदेखि सेवा बन्द गरेको दमक नगरपालिका पनि २७ गतेसम्मका लागि बन्द गरेको उपप्रमुख गीता अधिकारीले बताइन् । उनले दमकका १० वटै वडा कार्यालय बन्द गरिएको जानकारी दिइन्।

भद्रपुर नगरपालिकाको कार्यालय र सबै ११ वटै वडा कार्यालय पनि बन्द गरिएको छ । दुबै नगरपालिकाले अत्यावश्यक र स्वास्थ्य सेवाबाहेक विषयगत कार्यालयबाट प्रदान गरिँदै आएको सबै सेवासमेत बन्द गरेका छन्।

दमकमा हालसम्म तीन जना कोरोना कोरोना संक्रमितको मृत्यु भएको छ। दमकका १९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा सहायक कुवेर भट्टराईले जानकारी दिए।

भद्रपुर नगरपालिकामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले बताए। सो नगरपालिकामा १२५ जनामा संक्रमण पुष्टि भएको छ।