अर्थ बजार

चाडपर्व नजिकिएसँगै फिदिममा बढ्यो रातोमाटोको कारोबार

By admin

October 16, 2020

पाँचथर । दशैँ, तिहार नजिकिएसँगै पाँचथरको फिदिममा राटो माटोको कारोबार बढेको छ । स्थानीय चारखम्बेको रातोमाटो दशैँ तिहारको समयमा बर्सेनि बिक्री हुने गर्दछ ।

घर पोत्न र सिँगार्न प्रयोग गरिने रातोमाटो प्रतिबोरा ६० देखि १ सय रुपैँयामा बिक्री भइरहेको छ । यहाँको रातोमाटो पाँचथर जिल्लासँगै तेह्रथुमको आठराई क्षेत्र, ताप्लेजुङ, इलाम र झापासम्म पनि बिक्री हुने गर्दछ ।

रातोमाटो बेचेरै दशैँ, तिहार खर्च जुटाउँदै आउनु भएकीे चारखम्बेकी मिरा गुरुङलाई अहिले रातो माटो बेच्न भ्याइनभ्याइ छ । उहाँ ५ वर्षयता यहाँको माटो बेचेर दशैँ तिहार खर्च जुटाउँदै आएको बताउनुहुन्छ। अघिल्लो वर्ष रातोमाटो बेचेर डेढ लाख रुपैयाँ आम्दानी गरेको गुरुङको भनाइ छ ।

उहाँले चारखम्बेमा रहेको आफ्नै जग्गाबाट ५ जना कामदार लगाएर रातोमाटो निकालेर बिक्री गरिरहनुभएको छ । यस क्षेत्रमा आफ्नै जग्गा नहुनेहरुले पनि जग्गाधनीलाई प्रतिबोरा १५ रुपैयाँ दिएर रातोमाटो निकालेर बिक्री गर्ने गर्दछन् ।

फिदिम ४ का क्षितिज खवासले जग्गा लिजमा लिएर रातोमाटो निकालेर बेचिरहनुभएको छ । दशैँ तिहारको समयमा जग्गा लिजमै लिएर भए पनि दशैँ तिहार खर्च जुटाउँदै सहजै जुटेने उहाँको भनाइ रहेको छ । यहाँको माटो ट्रयाक्टरमा हालेर गाउँगाउँमा लगेर बिक्री गर्ने गरिन्छ ।

विभिन्न ठाँउबाट एक महिना अघिदेखि नै माटो किन्नेहरु यहाँ आउने गर्दछन् । अरु ठाँउमा पाइने रातोमाटोभन्दा यहाँ पाइने माटो चम्किलो हुने भएकाले यहाँको रातोमाटोको धेरैको रोजाइमा पर्ने गरेको छ । (उज्यालोबाट)