शिक्षा

कक्षा १२ को परीक्षा मंसिर ९ देखि, होम सेन्टर तोकियो

By admin

October 21, 2020

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा संचालन होम सेन्टरबाटै गर्ने निर्णय गरेको छ । बोर्डको कार्तिक २ गते बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढ्दै गएको कारण यो वर्षको परीक्षा होम सेन्टरबाटै गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।

मंसिर ९ गतेदेखि सुरु भई मंसिर १६ गतेभित्र परीक्षा सकिने बोर्डले बुधबार परीक्षा संचालनको तालिका समेत सार्वजनिक गरेको छ। कक्षा १२ विश्वविद्यालय प्रवेश गर्ने आधार भएकोले विद्यार्थीले आआफनो परीक्षा केन्द्रमा पुगेर परीक्षा दिनु पर्नेछ ।

बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा ९कक्षा१२० विद्यार्थी मूल्याँकन, परीक्षा संचालन, ब्यवस्थापन, अभिलेखिकरण र प्रमाणिकरण कार्यविधि २०७७ जारी गरी परीक्षा संचालन गर्ने सबै तयारी गरेको प्रवक्ता अर्यालले जनाए।

‘यस वर्षको कक्षा १२ को परीक्षामा ४० प्रतिशत अंकको लिखित हुन्छ। ४० प्रतिशत अंकभार कक्षा ११ को परीक्षाको जोडिने र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्याँकको जोडिने बोर्डले निर्णय गरेको छ’, प्रवक्ता अर्यालले भने, ‘यस पटक कक्षा १२ को परीक्षाको लागि फरम भर्ने कुल चार हजार एक सय ५ विद्यालय थिए। चार लाख ३३ हजार एक सय ८० परीक्षार्थीको लागि होम सेन्टर चार हजार एक सय पाँच नै कायम गरिएको छ।’

उनले थपे, ‘बोर्डले विद्यार्थी मूल्याङकन परीक्षा संचालन, ब्यवस्थापन, अभिलेखिकरण र प्रमाणिकरण कार्यविधि कार्तिक २ गते पारित गरेको छ। त्यहीअनुसार परीक्षा संचालन गर्ने हो ।’ उनले बोर्डले प्रश्नपत्र र उत्तरपुस्तिका छपाई कार्य सम्पन्न गरिसकेको र सबै सुरक्षित स्थानमा ब्यवस्थापन गरिएको जनाए। बोर्डको सातै प्रदेशमा क्षेत्रीय कार्यालय भएकोले परीक्षा समाप्त पछि उत्तरपुस्तिका संकलन गरिने जनाए। नागरिकबाट