कला

डंगोल र लामाको ‘याद’ सार्वजनिक

By admin

October 22, 2020

झापा । गीतकार गौतम डंगोल सन्देश को शब्द रचना एवं हेम लामाको संगीत तथा सुमधुर स्वर रहेको ‘याद’ बोलको गीत सार्वजनिक भएको छ ।

‘कहिले काहिँ उसलाई पनि मेरो याद आउँदो हो…’ बोलको गीत मंगलबार गायक तथा संगीतकार हेम लामाको आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतको रेकर्डिङ्ग, मिक्सिङ्ग, मास्टरिङ्ग हेम स्वयंले गरेका हुन् भने रेकर्डिङ्ग भक्तपुरस्थित हेम्स स्टुडियोमा गरिएको हो ।

चर्चामा नआए पनि गीतकार गौतम डंगोल तथा गायक तथा संगीतकार हेम लामा लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् । गायक तथा संगीतकार हेम लामाले स्वर दिएका एक दर्जनभन्दा बढी, संगीत संयोजन गरेका २० वटाभन्दा बढी तथा वाद्य संयोजन गरेका ३० वटाभन्दा बढी गीत अडियो तथा भिडियोमार्फत सार्वजनिक भइसकेका छन् ।

विगत २ दशकदेखि संगीत विधामा संलग्न हेम गायनका अलावा संगीत सिर्जना, वाद्य संयोजन तथा रेकर्डिङ मिक्सिङमा पनि दख्खल राख्दछन् । उनी विशेषत नयाँ तथा फरक शैलीका संगीत सिर्जनामा अभिरूचि राख्छन् ।

त्यसैगरी मुख्य पेशाका अलावा बचेखुसेका फुर्सदका क्षणलाई लेखन विधामा अर्पेका गीतकार गौतम डंगोलका अनलाइन तथा प्रिन्ट मिडियामा गरी एक सयभन्दा बढी लेख रचनाहरू प्रकाशित छन् । नेवारी र नेपाली भाषामा कलम चलाउने सन्देश आफ्नो लेखन शैलीलाई ल्याभिस राइटिङ्गको संज्ञा दिन्छन् ।

उनले आफूले लेखेका गीतहरू कम्पोज्ड, अरेन्ज्ड, भोकल्ड, भिजुयलाइज्ड भएर आउँदा निर्जिव शब्दहरूमा जीवन भरिएको आभाष गर्छन् । हालसम्म उनका गीतहरूमा भिषण निरौला, शक्ति बल्लभ, सचिन सिंह, फनिन्द्र राई, मनोहर सुनाम, हेम लामा, झुमा निरौला, गोबिन्द गुरूङ्ग, रीमा गुरूङ्ग, डेनी निरौला, भुगोल दाहाल, जेम्स प्रधान, सुमित आर्य, किरण थापा, प्रदिप श्रेष्ठ, किरण कँडेल, अनिल शाही, अस्मिता परियार, स्वरूपराज आचार्य, राजकुमार बगर, भुपेन्द्र बज्राचार्य, मनराजा नकर्मीलगायतले कम्पोज, अरेन्ज तथा स्वर दिएका छन् ।

‘याद’ शीर्षक दिइएको यो गीतलाई मोर्डन पप संगीतको क्याटेगोरीमा राख्न सकिन्छ । पेशाका हिसावले गीतकार सन्देश तथा गायक संगीतकार लामा दुवै बैंकर हुन् ।