अर्थ बजार

पाँचथरको सिमावर्ती क्षेत्र फालोटमा पर्यटकको चाप

By admin

November 30, 2020

पाँचथर । सडक पुगेपछि फालोटको आकर्षक सीमा क्षेत्रमा पर्यटकको चाप बढे पनि नेपालले भने कुनै लाभ लिन सकेको छैन । पाँचथरमा पर्ने नेपाल-भारत सीमावर्ती क्षेत्र फालोटमा पर्यटकको चाप बढ्दै गएको छ ।

भारतले आफ्नोतर्फ सीमा क्षेत्रमै सवारी सञ्चालन हुनसक्ने सडक निर्माण गरेको छ भने नेपालले विभिन्न क्षेत्रबाट सीमासम्म सडक पु¥याएको छ । सडकको पहुँचका कारण फालोट क्षेत्रमा दैनिक सयौँ पर्यटक पुग्न थालेका छन् । पर्यटकको उल्लेख्य चाप भए पनि आम्दानी लिनसक्ने कुनै संरचना नहुँदा नेपालले कुनै फाइदा लिन सकेको छैन । यसको सोझो फाइदा भारतीय पक्षले उठाइरहेको छ ।

नेपाल-भारत सीमावर्ती क्षेत्रमा फालोट, चारराते, भैँसे, गोर्खेपानी, तीन सिमाना, तोरीफूले, चिवाभञ्ज्याङलगायत महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेका छन् । फालेलुङ–४ का श्याम थाम्सुहाङका अनुसार यहाँ दैनिक सयौँ आन्तरिक पर्यटक सीमा क्षेत्रमा पुग्छन् ।

भारतका विभिन्न स्थानका पर्यटकसहित भुटान र बङ्गलादेशका पर्यटकसमेत सीमा क्षेत्रमा आउँछन् । दुई हजार ५०० मिटरदेखि तीन हजार ६०० मिटरको उचाइमा रहेको फालोट क्षेत्र मनोरञ्जनका दृष्टिले निकै आकर्षक रहेकाले पर्यटकको उल्लेख्य उपस्थिति हुन थालेको हो ।

‘नेपालतर्फ बाटो व्यवस्थित नहुँदासमेत पर्यटक आइरहेका छन्, पूर्वाधार नहुँदा नेपालले कुनै फाइदा लिन सकेको छैन’, थाम्सुहाङले भन्नुभयो, ‘पर्यटकबाट नेपालले ठूलो लाभ लिनसक्ने सम्भावना छ ।’ हिमाल हेर्ने र रमाइलो गर्ने ठाउँ नेपालमा रहेपनि भारतर्फबाट सहज सडक पहुँच हुनाले उतै बढी पर्यटक हुने र भारतले नै राजश्व सङ्कलन गर्ने अवस्था रहेको थाम्सुहाङको भनाइ छ । फालेलुङ-४ का अमृतबहादुर राईका अनुसार नेपाली तथा नेपाल हुँदै यात्रा गर्ने विदेशी पर्यटकलाई पैदलयात्रा गरेर भारततर्फ जान कुनै बन्देज छैन ।

पर्यटकहरुले आधारभूत सुविधासमेत भारतबाटै पाउने भएपछि उसले पैदल यात्रालाई सहज बनाउदै आम्दानी बढाउने नीति लिएको राईको ठम्याइ छ । स्थानीयवासी पर्यटकबाट लाभ लिन सीमा क्षेत्रसम्म व्यवस्थित सडक निर्माण गर्नुपर्ने, भ्यू-प्वाइन्ट तथा हिलस्टेशनलगायत संरचना बनाइनुपर्ने माग गर्छन् ।

फालोट क्षेत्रबाट नेपाल, सिक्किम ९भारत० र भुटानका हिमाल हेर्न सकिने भएकाले यहाँ पर्यटकको चाप बढेको यस क्षेत्रको पर्यटन विकासमा सक्रिय चन्द्रलाल नेपाल बताउनुहुन्छ । यहाँबाट सर्वोच्च शिखर सगरमाथादेखि सिक्किमको लाचेलाचेन तथा भुटानका हिमालसमेत देख्न सकिन्छ ।

यहाँबाट सूर्योदय, सूर्यास्त र पहाडी भूभाग हेर्न सकिने, चौँरीपालन, भेँडापालन, जडिबुटीलगायत पाइने हुँदा पर्यटकको चाप बढेको बताइन्छ । यति महत्वपूर्ण स्थान भए पनि नेपालले लाभ लिनसक्ने अवस्था नहुनु दुःखद् पक्ष रहेको उहाँको ठम्याइ छ । ‘भारतपट्टि पूर्वाधार हुँदा उसैले सबै फाइदा लिइरहेको छ । लकडाउनपछि त आसपासका क्षेत्रका पर्यटकको चाप ह्वात्तै बढेको छ’, नेपालले भन्नुभयो ।

यद्यपि नेपाल तर्फबाटसमेत फाइदा लिनका लागि गोठबास निर्माणको प्रयास शुरुआत भएको छ । चारराते, गोर्खेपानी, तीन सिमानालगायत क्षेत्रमा गोठस्टे निर्माण गर्ने र पर्यटकलाई आधारभूत सेवा दिई लाभ लिने उद्देश्यसहित तीनै तहका सरकारको लगानीमा गोठबास निर्माण थालिएको कञ्चनजङ्घा फालेलुङ पर्यापर्यटन विकास केन्द्रका सचिवसमेत रहनुभएका नेपालले बताउनुभयो ।

हालसम्म नेपालतर्फ कुनैपनि होटल, लज छैनन् । भारतले ठाउँ–ठाउँमा घरबास (होमस्टे) निर्माण गरेको छ । पर्यटकहरुले यिनै घरबासबाट सेवा पाइरहेका छन् । धेरै सीमा क्षेत्र पर्ने फालेलुङ-४ का वडाध्यक्ष विद्धिमान सावदेनका अनुसार नेपालले स्थानीय तह निर्माणपछि सीमासम्म सडक पु¥याएको हो । त्यसअघि बस्तीसम्म मात्रै सडक थियो । तीनै तहका सरकारको लगानीमा करिब १५ किलोमिटर सडकको ट्र्याक खोलिएको हो ।

नेपालतर्फ सशस्त्र प्रहरीका चार बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएसँगै भौतिक पूर्वाधार निर्माण अव सरकारको प्राथमिकतामा पर्ने अपेक्षा गरिएको वडाध्यक्ष सावदेनको भनाइ छ । ‘पर्यटन प्रवद्र्धनका लागि सीमा क्षेत्र महत्वपूर्ण रहेपनि सुरक्षाको प्रत्याभूति नहुँदा प्रशस्तै पर्यटक आउन सकेका थिएनन्’, सावदेनले भन्नुभयो, ‘भारततर्फ भन्दा नेपालतर्फ आकर्षक स्थान रहेकाले नेपालतर्फ पर्यटकको चाप झनै बढ्ने अपेक्षा गरेका छौँ ।’

स्थानीय जनप्रतिनिधिले तीन सिमाना, गोर्खेपानी र चारराते क्षेत्रलाई नाकाको रुपमा विकास गर्ने लक्ष्य लिएर सडक निर्माणमा लगानी जुटाएका थिए । भारततर्फ सिंहलिला राष्ट्रिय संरक्षण क्षेत्र रहेकाले सीमा क्षेत्रलाई नाकाको रुपमा विकास गर्न कठिन भएको वडाध्यक्ष सावदेनको भनाइ छ । सडक बनेपछि सामान आयातनिर्यात भने सहज भएको उहाँले बताउनुभयो ।

फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङ बीओपी स्थापनासँगै पर्यटकीय पूर्वाधार निर्माणमा सङ्घ र प्रदेश सरकारले अझैबढी ध्यान दिनेमा आशावादी हुनुहुन्छ । ‘बिओपीमा बस्ने सुरक्षाकर्मीलाई सुविधा पु¥याउन पनि सीमा क्षेत्रका पर्यटकीय क्षेत्रमा लगानी बढ्छ भन्ने हाम्रो अपेक्षा छ’, उहाँले भन्नुभयो ।

फालोटमा स्थापना भएको बीओपी उद्घाटन गर्न पुग्नुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपालले आम्दानी गर्नसक्ने गरी संरचना निर्माण हुने बताउनुभयो । यसका लागि सङ्घीय सरकारले केचना–कञ्चनजङ्घा सडक निर्माणको अवधारणा अघि सारेको छ । सीमा क्षेत्रबाट दुई लेनको सडक निर्माणका लागि झापाको केचनकवलबाट सर्वेको काम शुरु भएको छ ।

फालोटमा पर्यटक पु¥याउन फिदिम-फालोट सडक, जोरपोखरी–मेमेङ फालोट र हेंवा कोरिडोर निर्माण थालिएको मन्त्री नेम्वाङको भनाइ छ । केही वर्षमै कालोपत्र बाटो पु¥याउने र भारतलाई पर्यटन विकासमा उछिन्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । रासस