समाज

कुसुमलाई बचाउन युके र नेपालमा संकलित ७ लाखबढी रकम हस्तान्तरण

By admin

December 10, 2020

झापा । विगत लामो समय देखि एसएलइ रोगबाट ग्रसित कुसुम लावतीको परिवारलाई ७ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ । कुसुम लावती लिम्बु बचाउ अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको हो ।

अभियान युके र नेपालमा सञ्चालन गरिएको थियो । युकेबाट जम्मा भएको ६ लाख ८ हजार पाँच सय ९० रुपैयाँ र नेपालमा बाटोघरे कान्छा (पदम)को पहलमा संकलित २ लाख ८३ हजार ९ सय ७० रुपैयाँ गरि ८ लाख ९२ हजार पाँच सय ६० रुपैयाँ संयुक्त रुपमा बिरामीको दाइ दलबहादुर लावतीलाईं हस्तान्तरण गरिएको छ । नेपालमा संकलित रकम केही समयअघि पनि हस्तान्तरण गरिएको थियो ।

एसएलइ रोग (घामको प्रकाशबाट हुने छालाको क्यान्सर) बाट ग्रसित कुसुम लावतीको विगत लामो समयदेखि निरन्तर उपचार गराउँदै आएको दाइ दलबहादुर लावतीले बताए । कुसुम लावतीको स्वास्थ्यमा समस्या भएपछि थप उपचारका लागि बिराटनगरको नोबेल अस्पतालमा उपचार गराई आंशिक स्वास्थ्य लाभ गरि डाक्टरको सल्लाह अनुसार घरमा नै आराम गर्नु पर्ने र केही समय समयमा स्वास्थ्य परीक्षणको लागि जानु पर्ने सल्लाह अनुसार घरमा ल्याइएको थियो । तर बिरामी लावतीको गत मंसिर २१ गते बेलुका ७ बजेतिर मृत्यु भएको थियो ।

बिरामीको मृत्यु भए पनि मृतक कुसुम लावती लिम्बुको नाममा उठेको रकम उसैको परिवारलाई नै हस्तान्तरण गर्ने निर्णय अनुसार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ का उपाध्यक्ष भूमिका फियाक लिम्बुले सो रकम बिरामीको घरमा नै पुगेर हस्तान्तरण गरेको हो । इलामको साविक लुम्दे १ हाल झापाको गौरादह ५ मा कुसुम लिम्बूले बसोबास गर्दै आफ्नो उपचार गराउँँदै आएकी थिइन् ।