खेलकुद

पथरी प्रिमियर लिगः श्रीजंगाले अंक जोड्यो

By admin

December 11, 2020

पथरी । पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा श्रीजंगा क्लव बिजयी हुँदै अंक जोडेको छ । हेरिका न्यूस्टार एफसीलाई १ -० गोलले पराजित गर्दै श्रीजंगाले स्पष्ट जीत निकालेको हो । खेलको ३३औँ मिनेटमा दिलकुमार याक्सोले गरेको गोल नै निर्णायक बन्यो । जीतसँगै श्रीजंगाले तीन अंक जोडेको छ ।

खेलको ६५औँ मिनेटमा श्रीजंगाका सुवास तामाङले गरेको आकर्षक प्रहारलाई हेरिका न्यूस्टार एफसीका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । यस्तै ७५ औँ मिनेटमा सनम धिमालको प्रहार पोस्टमा लागेर रिबाउण्ड हुँदा थप गोल गर्नबाट श्रीजंगा चुकेको थियो ।

खेल अवधिभर दवावमा रहेको हेरिक न्यूस्टारले थुप्रै अवसरलाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो । खेलको ५६औँ मिनेटमा बुद्ध राना मगरको उत्कृष्ट प्रहार गोल पोस्टमा लागेर रिवाउण्ड हुँदा गोल गर्नबाट चुकेका थिए । लगातार ३ वटा सुनौला मौका पाउँदा पनि गोललाई पोस्टको दिशा दिन नसक्दा हेरिका स्तब्ध बन्यो ।

खेलको उत्ताद्र्धमा हेरिका आक्रमक रुपमा देखिए पनि जवाफी गोल फर्काउन नसक्दा १-० गोल अन्तरले पराजित बन्न पुग्यो । प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको म्यान अफ दी म्याच श्रीजंगा क्लवका खेलाडी विवेक आङ्देम्बे घोषित भए ।

लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो । शनिबारको खेल नवोदय र देवीगंज एफसीबीच हुने आयोजक कमिटीले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उपबिजेताले नगद ७५ हजार प्राप्त गर्नेछ ।