काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिकालाई १०-० ले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो । आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मी घिसिङले समान ४-४ गोल गरिन् । यस्तै विमला चौधरी र सपना लामाले एक एक गोल गरिन् ।चन्द्रपुरविरुद्ध एकपक्षीय जित निकाल्ने क्रममा आर्मीले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ६ गोल गर्यो ।

चन्द्रपुरविरुद्ध तेस्रो मिनेटमै आर्मीले अग्रता बनाएको थियो । विमलाले गोल गर्दा आर्मीले अग्रता बनाएको थियो । मैदानको बायाँ भागबाट विमला बिकले मिलाएको क्रसलाई अनमार्क रहेकी उनले सहजै गोल गरिन ।

खेलको १५ औं मिनेटमा शर्मिलाले गोल गर्दा आर्मीले २-० को अग्रता बनायो । रश्मीको पासमा शर्मिलाले गोल गरेकी थिइन् । शर्मिलाले ३५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ३-० को अग्रता दिलाईन् । उनले विमला बिकको पासमा गोल गरेकी थिइन् । खेलको ४४ औं मिनेटमा सपनाले गोल गर्दा पहिलो हाफमा आर्मी ४-० ले अघि रह्यो । सपनाले एकल प्रयासमा गोलरक्षक पुजालाई बिट गर्दै सहज गोल गरिन् ।

शर्मिलाले ५१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा आर्मीको अग्रता ५-० को बन्यो । उनले विमला चौधरीको पास सदुपयोग गरिन । शर्मिलाको यो लिगमा पहिलो ह्याट्रिक हो । रश्मीले खेलको ५९ मिनेटमा गोल गर्दा आर्मीको अग्रता ६-० को बनायो । पूर्व क्लबविरुद्ध गोल गरेकी रश्मीको यो प्रतियोगिताको पहिलो गोल हो ।

खेलको ६२ औं मिनेटमा आर्मीले ७-० को अग्रता बनायो । रश्मीले डिबक्स बाहिरबाट आकर्षक गोल गरिन् । खेलको ६४ औं मिनेटमा आर्मीले आठौं गोल गर्यो । चन्द्रपुरको गोलरक्षक र डिफेन्सबिचको तालमेल नमिल्दा सिक्स यार्ड बक्सबाट शर्मिलाले हेड गोल गरिन् ।

लगत्तै ६६ औं मिनेटमा रश्मीले ह्याट्रिक पुरा गर्दा आर्मी ९-० ले अघि रह्यो । विमला चौधरीको क्रसमा रश्मीले सहज गोल गरिन् । त्यसपछि खेलको ८४ औं मिनेटमा रश्मीले व्यक्तिगत चौंथो गोल गर्दै आर्मीलाई १०-० को जित दिलाईन् । रश्मीले ७ मिनेटभित्र ह्याट्रिक पुरा गरेकी हुन् ।

जितसंगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ७ अंक जोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

यसैबीच, आर्मीका कप्तान राजु तामाङले चाहिएको समयमा तीन अंक प्राप्त गरेको बताए । ‘जसरी हुन्छ आज तीन अंक चाहिएको थियो । सुरुमै गोल हुँदा राम्रो भयो । बल सप्लाई राम्रो भयो, गोल पनि निस्कियो’, उनले भने, ‘आज सजिलो भयो । लिगमा गोल फाइदा हुने भएर त्यसमा ध्यान दिएका थियौं ।’

चन्द्रपुरका सहायक चित्र बहादुर दर्लामीले डिफेन्स कमजोर हुँदा फराकिलो हार व्यहोरेको बताए । ‘विभागीय टिम राम्रो हो । तर, हाम्रो रक्षापंक्ती कमजोर छ । सेटको डिफेन्स खेल्न पाएको छैन । एक दुई अवसर पायो । सदुपयोग भएन’, उनले भने ।