समाज

अर्जुनधारामा गोबरको खाल्डोमा डुबेर ३ वर्षकी बालिकाको मृत्यु

By admin

February 07, 2021

झापा । अर्जुनधारा नगरपालिका ४ स्थित मदनपुर नजिकै आज (आइतबार) बिहान गोबरमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

स्थानीय राज अधिकारीकी ३ वर्षीया छोरी योजनाको गोबरको खाल्डोमा डुबेर मृत्यु भएको हो । घर नजिकै आमा पूजा अधिकारीसँगै खेतबारीमा खेल्दै पुगेकी ३ वर्षीया योजनाको गोबर ग्यासमा प्रयोग गरिएपछि भण्डारण गरिने गोबरको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ ।

अन्दाजी बिहान ९ बजेतिर प्याज रोप्न आमा बारीमा गएपछि बालिका पनि नजिकै खेल्दै थिइन् । तर, एकछिन पछि बालिका नदेखिएपछि खोजी गर्दा नजिकैको गोबरले भरिएको खाल्डोमा फेला परेकी थिइन् ।

करिब ३ फिट गहिरो खाल्डोबाट निकालेर उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटल लगिएको थियो । तर, त्यहाँ पुराउनसाथ चिकित्सकले बालिकालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको एक टोलीले घटनास्थलको मुचुल्का उठाएको छ भने बालिकाको शव पोष्टमार्टमका लागि मेची अञ्चल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।