विनोद सापकोटा, झिलझिले । झापाको शिवसताक्षीमा तेश्रो संस्करणको नगरस्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ ।
आठ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कवर्ड हलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ । आयोजकका अनुसार फागुन १७ देखि २८ गतेसम्म हुने प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट, कराँते, कबड्डी र व्याडमिण्टनका खेल हुनेछन् ।
शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गका अनुसार नगरस्तरीय फुटबलका विजेता वडाले ७५ हजार पाउनेछ भने उपविजेताले ४१ हजार नगदै पुरस्कार पाउनेछ ।
फुटबल विधाका सर्वोकृष्ट खेलाडीले १५ हजार र म्यान अफ दि म्याचका विजेताले १४ हजार पाउने छन् । प्रतियोगितामा सर्वाधिक गोल गर्ने वडाले ८ हजार पाउने आयोजक समितिका सन्तोष पौडेलले बताए । वेष्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकरले जनही ५ हजार पाउनेछन् । फुटबल दूधेको क्षेत्रीय रंगशालामा १७ गतेदेखि २८ गतेसम्म हुनेछ ।
यस्तै भलिबल खेलको विजेता वडाले ५० हजार पुरस्कार पाउँदा उपविजेताले ३० हजार पाउनेछ । पारावारीको खेलमैदानमा १८ गतेदेखि हुने भलिबल खेलका म्यान अफ दि म्याच खेलाडीले १४ हजार र वेष्ट प्लेयरले ७ हजार पाउने छन् ।
यता महिला तथा पुरुष दुवैको एथलेटिक्सि प्रतियोगिता २२ गतेदेखि हुने भएको छ । व्याङ्गडाँडामा हुने उक्त प्रतियोगिता ८ सयदेखि ३ हजार मिटर दूरीसम्मको हुनेछ । आयोजकका अन्ुसार छेलो खेलमा महिला पुरुष दुवैले सहभागिता जनाउने छन् । लङ जम्प महिला—पुरुष र हाइजम्पमा महिलामात्र सहभागी हुनेछन् । एथलेटिक्स खेलका लागि आयोजकले ६३ हजार ५ सय पुरस्कार राशि छुट्याएको छ ।
मेयरकप अन्तर्गत क्रिकेट विधाको खेल १९ गतेदेखि झिलझिले खेलमैदानमा हुनेछ । आयोजक समितिका लक्ष्मण अधिकारीले दिएको जानकारीअनुसार विजेता वडाले ५० हजार र उपविजेताले ३० हजार पाउनेछ । क्रिकेटको म्यान अफ दि म्याच १४ हजार, म्यान अफ दि सिरिज ३ हजार र वेष्ट अफ दि खेलाडीले ५ हजार पाउने आयोजकले जानकारी दिएको छ ।
मेयर कपमा कराते खेल पनि हुनेछ । कराते महिला र पुरुष दुवैको फरक फरक हुनेछ । माइधारको कवर्ड हलमा २२ गतेदेखि हुने उक्त प्रतियोगिताका विजेताले २० हजार पाउने समितिका प्रेम फुँयलले बताए । आयोजकका अनुसार कबड्डी २६ गतेदेखि र बुद्धिचाल पनि २० गतेदेखि दूधेमा हुनेछ ।
कबड्डीका विजेताले १५ हजार र उपविजेताले १० हजार पाउने छन् । यस्तै बुद्धिचालका विजेताले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।
यता व्याडमिन्टन तर्फको खेल माइधारमा हुनेछ । सो विधाका डवल खेलाडी विजेताले १० हजार र सिङ्गल विजेताले ५ हजार पाउनेछन् । यस्तै, दोश्रो डवल विजेताले ५ हजार र दोश्रो सिङ्गल विजेताले ३ हजार पाउनेछन् ।
शिवसताक्षी नगरपालिकाले मेयर कपलाई मिनी ओलम्पिकको उपमा दिएको छ । चालु आर्थिक वर्ष ०७७/०७८ मा १५ लाख रकम विनियोजन गरेको थियो । गत वर्ष कारोना भाइरसका कारण रोकिएको उक्त प्रतियोगिता फेरि संचालनको तयारी भएको शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले बताए । आयोजकले सबै विधाका खेलमा ५ लाख २९ हजार ५ सय पुरस्कार राशि छुट्याएको छ ।
आयोजकले प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ । पुनःस्थापित संसदका झापा निर्वाचन क्षेत्र नम्बरका सांसद एलपी साँवा लिम्बूले मेयर कपको भव्य समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।