अर्थ बजार

…अन्तुका होमस्टे व्यवसाय सङ्कटमा

By admin

April 23, 2021

प्रकाश नेपाल, इलाम । समुदायद्वारा प्रवद्र्धन गरिएका इलामको श्रीअन्तुमा अहिले खचाखच आन्तरिक पर्यटकहरु भरिएका छन् । तर, अन्तुमा करोडौँ खर्च गरेर रिसोर्ट, सुविधा सम्पन्न होटल र आर्कषक कटेज निर्माण गरेसँगै त्यस्को प्रभाव होमस्टेमा देखा परेको छ ।

आन्तरिक पर्यटकहरुको अन्तुमा भीड बढेसँगै यहाँका होमस्टेमा ठुला होटल संचालकहरुको प्रभाव देखिन थालेकोले होमस्टेलाई मापदण्ड अनुरुप संचालन गर्न सरोकारवालाहरुले सुझाएका छन् । पर्यटन बोर्डका सहसंयोजक अर्जुन कार्कीले होमस्टेको नाममा प्रकृतिले दिएको बरदान तथा सौन्दर्यतालाई नष्ट गरेर कंक्रिटका जंगल बनाएर बिनाश गर्न नहुने बताउनुभयो ।

होमस्टेमा मौलिक खानाहरु राख्न तथा घरकै खाना राख्ने भनेर सुझाव दिने गरेको पर्यटन बोर्डकी सुस्मिता दाहालको भनाई छ । पछिल्लो समयमा श्रीअन्तुमा विस्तार हुँदै गएका रिसोर्ट र होटलका कारण होमस्टे ओझेलमा पर्न सक्ने चिन्ता स्थानीयको छ । मौलिक घर हराउँदै पक्की घरहरु निर्माण हुने क्रम बढेकोले प्रकृति र सँस्कृतिलाई जगेर्ना गरी होमस्टे व्यवसाय नै संचालन हुनु पर्ने सुझाव दिइएको छ ।

प्रदेश मंत्रालय, पर्यटन महाशाखा प्रमुख शम्भु शाहले होमस्टेहरु परम्परामा आधारित हुनेपर्ने तर यहाँ हामेस्टेको मापदण्ड विपरित सञ्चालन भइरहेको बताउनुभयो । स्थानिय पालिका अथवा सरोकारवालाई निकायसँग समन्वय गरेर नियम विपरित सञ्चलन भइरहेको होमस्टेहरुलाई सुधार गर्नुपर्ने उहाँको भनाई छ।

श्रीअन्तुलाई होमस्टेमय बनाउने भनेर २०६७ सालमा नै सामूहिक रूपमा दर्ता गरेर अगाडि बढेको भए पनि कार्यान्वयन पक्ष फितलो भएको छ । अन्तुका ६८ घरमा होमस्टे सञ्चालन गरिएको छ । जसमा ५८ वटा पुरानै हुन् भने १० वटा नयाँ थपिएका छन् ।

होटल र कटेजको संख्या ६० छ । प्रदेश १ सरकारले २०७५ सालमै सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गरेको छ । घोषणापछि पालिकाले पनि अन्तुलाई ‘होमस्टे हब’ कै रूपमा विकास गर्ने लक्ष्य राखेको छ । इमेज खबरबाट